चाडपर्वको मुखैमा रित्तिए गोदाम

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ असोज ।
मगुमा यस वर्ष ढुवानी हुनुपर्नेमध्ये १७ हजार क्वीण्टल चामल ढुवानी भएको छैन । अर्कोतर्फ गत वर्षको मौज्दात चामल पनि सकिएपछि जिल्लाका खाद्य गोदामहरू रित्तिएका छन् ।


यस्तै हुम्लाको सर्केगार्ड, श्रीनगर र देउलीका खाद्य डिपोमा पनि चामल नभएको महिनौ भइसक्यो । त्यस क्षेत्रका नागरिकले चामलको अभाव झेलिरहेका छन् ।
मुगु र हुम्लामा मात्रै होइन कर्णाली प्रदेशका विकट हिमाली जिल्लाहरूमा यतिबेला खाद्यान्न अभाव भएको छ । दशैं–तिहार जस्ता चाडपर्वहरू नजिकिँदै गर्दा कर्णालीका विकट जिल्लाका खाद्य गोदामहरू रित्तिएका छन् । गोदाम रित्तिएपछि नागरिकहरू चामल कहिले आउँछ भनेर कुरिरहेका छन् ।
मुगुको सदरमुकाम गमगढी, श्रीकोट, सोरुकोट र पुलुका खाद्य डिपो चामल अभावमा यतिबेला रित्ता भएका हुन् । जिल्लामा चालु आर्थिक वर्षमा १७ हजार क्वीण्टल चामल ढुवानी नभएको खाद्य संस्थानले जनाएको छ । संस्थानका अनुसार गत वर्षको मौज्दात चामल पनि सकिएको छ । जसले गर्दा केही महिनादेखि नै जिल्लाका सबै खाद्य गोदाम खाली भएका छन् । संस्थानका अनुसार जिल्लाको सोरु गाउँपालिकाको सोरुकोट, खत्याड गाउँपालिकाको श्रीकोट र मुगमकार्मारोङ गाउँपालिकाको पुलु खाद्य डिपोमा गत साउन महिनादेखि चामल सकिएको हो । यस क्षेत्रका नागरिकले दुई महिनादेखि चामल अभाव झेलिरहेका छन् ।
कर्णालीका हिमाली जिल्लामा वर्षेनी खाद्यन्न संकट हुने गरेको छ । स्थानीयले चाडपर्वमा समेत चामल पाउदैनन । समयमै ढुवानी नहुँदा ती जिल्लाहरूमा चामल अभाव भएको जनाइएको छ । स्थानीयका अनुसार ढुवानी समस्याले कर्णालीमा चामलको अभाव सुरु भएको हो । विगत चार महिनादेखि कर्णालीका हुम्ला, डोल्पा र मुगुलगायतका जिल्लामा चामल अभाव हुन थालेको हो । सडक सञ्जालले नछोएको हुम्ला र डोल्पाका ग्रामीण भेगमा नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि खाद्यान्न अभाव भएको छ ।
डोल्पाका अधिकांश जिल्लामा खाद्यान्न डिपोमा चामल सकिएपछि उपभोक्ताले दुई महिनादेखि किन्न पाएका छैनन् । नेपाल खाद्य संस्थानका प्रवत्ता शंकर सापकोटाले कर्णालीका लागि झण्डै सवा लाख क्वीण्टल
चामल आवश्यक पर्ने जानकारी दिए । तर आवश्यक चामल कहिले ढुवानी हुन्छ त्यसको भने कुनै टुङ्गो छैन ।
दशैं–तिहार नजिकिँदै गर्दा गोदाममा चामल नभएपछि स्थानीय चिन्तित भएका छन् । चामल लिन खाद्य डिपोमा आएका स्थानीय रित्तै फर्किने गरेका छन् । गोदाममा चामल नहुँदा दशैं मनाउन समस्या हुने देखिएको सोरुकोट गाउँका पदम शाहीले बताए । ‘अन्नबाली पाकिनसकेकाले समस्या हुने देखिएको छ,’ उनले भने, ‘नजिकैका खाद्य डिपोमा चामल छैन, अन्यत्रबाट ढुवानी गरेर ल्याउन धेरै समस्या छ ।’
सोरु गाउँपालिकाका अधिकांश बस्तीमा सिँचाइ सुविधा नभएकाले र जमिन भिरालो भएकाले अन्न उत्पादनमा समस्या छ । चाडपर्वमा स्थानीयलाई खाद्यकै भरपर्नु बाध्यता छ । सदरमुकाममा गतवर्षको तीन सय क्वीण्टल जापानिज चामलमात्र जगेडा छ । उक्त चामल महँगो भनेर स्थानीयले किन्न मानेका छैनन् ।
गोदाममा अरू चामल एक दाना पनि नभएको संस्थानले जनाएको छ । चालु आर्थिक वर्षको चामल ढुवानी सम्झौता असोज १९ गतेसम्ममात्र भए पनि ढुवानीमा ढिलाइ भएको मुगुका खाद्य प्रमुख भरतराज खनियाँले बताए । सम्झौतामै ढिलाइ भएकाले ढुवानीमा ढिलाइ भएको उनले जनाए । ‘ढुवानी नहुँदा ग्रामीण भेगका डिपोहरू खाली भएका छन्,’ उनले भने, ‘दशैं र तिहारका लागि केही दिनभित्रै तीन÷चार ट्रक चामल बर्दियाको राजापुरबाट आइपुग्ने जानकारी आएको छ ।’ उनका अनुसार त्यसबाहेक अन्य व्यवस्था केही हुन सकेको छैन । सोरुकोट, श्रीकोट र पुलु खाद्य डिपोमा चामल नभएपछि त्यहाँ कार्यरत कर्मचारी सदरमुकाम आएर बसेको उनले जनाए ।
प्रदेश सरकारको तथ्यांक अनुसार कर्णालीमा झण्डै १८ हजार मेट्रिक टन भन्दा बढी खाद्यान्न अपुग भएको देखिन्छ । कर्णालीका १० जिल्लामध्ये रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सात वटै जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको छ ।

प्रकाशित मितिः   १७ आश्विन २०७५, बुधबार १६:१६