कुखुरापालनमा जमेका हवल्दार
जगतदल जनाला बिक
सुर्खेत, १७ असोज ।
प्रायः रोजगारीबाट अवकाश प्राप्त गरेपछि मानिसहरू आरामदायी जीवन बाँच्न खोज्छन् । जागिरमा रहँदाको व्यस्तता भुल्न परिवारसँगै मन परेको ठाउँ घुम्ने, राम्रो लगाउने र फुर्सदिलो जीवन बिताउँछन् । तर, पञ्चपुरी नगरपालिका वडा नम्बर–५ का ३६ वर्षीय पूर्ण भाट जागिरे जीवन भन्दा झनै व्यस्त बनेका छन् । नेपाली सेनाका पूर्व हवल्दार हुन् उनी । बिहान उठेदेखि साँझ झिसमिसेसम्म घरमा खाली हात बस्दैनन् । बिहान उठेदेखि करिब १८ घण्टा खुकुरासँग बिताउँछन् ।
उनी प्रत्येक साता भाँडा र खोर सफा गर्छन् । भाँडामा पानी सकिएपछि ट्यांकीबाट आफै पानी भाँडामा आउने प्रविधि जडान गरेका छन् । चिसो मौसममा कुखुराका लागि खोरमा हिटरसमेत जडान गरेका छन् । १६ वर्ष नेपाली सेनामा विताएका उनले कमाइ कुखुरापालनमा लगाएका छन् । २०५८ देखि २०७४ सम्म नेपाली सेनामा कार्यरत थिए । सेवा निवृत्त भएपछि उनको दैनिकी कुखुराको हेरदेखमै बित्ने गर्छ । गत जेठबाट कुखुरापालन सुरु गरेका उनले सुविधायुक्त खोर निर्माण गरेका छन् ।
आठ लाख रूपैयाँ लगानीबाट व्यवसाय सुरु गरेका उनले करिब १५ लाख लगानी गरिसकेका छन् । कुखुरापालनबाट हालसम्म खर्चका अनुपातमा उनले दुई लाख ५० हजार खुद नाफा आर्जन गरेका छन् । सुरुमा दुई हजार दुई सय चल्ला राखेको खोरमा अहिले एक हजार आठ सय चल्ला थप गरेका छन् । ‘पहिलो पटक कुखुरापालन सम्बन्धी प्राविधिक ज्ञान र अनुभव नभएर धेरै चल्ला मरे’ उनी भन्छन्, ‘खासै फाइदा नभए पनि दास्रो पटक १८ सय चल्ला थपें । यसबाट मुनाफा राम्रो भएको छ ।’ घरमै बसेर मनग्य आम्दानी गर्दै आएका छन् । जागिर भन्दा व्यवसायबाट सन्तुष्ट छन् उनी । बिहान–बेलुका परिवारसँग बस्न पाएका छन् । गाउँ–समाजमा अप्ठ्यारो पर्दा सहयोग गर्न भ्याएका छन् । व्यापार व्यवसायमा परिवारको समेत सहयोग छ, उनलाई । भन्छन्,‘ दुःख सुखमा समाजलाई सघाउन पाएको छु । परिवारसँग रमाउने अवसर मिलेको छ । आम्दानी पनि जागिर भन्दा सन्तोषजनक नै छ । कसैको दबाब छैन्, अभाव छैन् ।’ व्यवसायले जागिर भन्दा पनि आत्मनिर्भर बनाएको अनुभव उनको छ ।
लगानी अनुसारको स्थानीयस्तरमा बजार नहुने समस्या भएको उनको गुनासो छ । ‘बाहिरको बजारको भरपर्दा समयमा कुखुरा बिक्री नहुँदा पनि घाटा हुने गरेको छ’ उनी भन्छन् । विदेशमा सुरक्षा गार्डका लागि मासिक दुई लाख ५० हजारको जागिर ‘अफर’ आएको थियो । तर, उनले त्यो अवसरलाई मनदेखि अस्वीकार गरे । आगनमा कुखुरा फर्म खोले । घरपरिवारबाट छुट्टिएर बस्नुको पीडा उनले १६ वर्ष नेपाली सेनामा काम गर्दा भोगेका थिए । ‘सब थोक पैसा मात्र होइन्, आफन्तसँग भोकै भए पनि बस्न पाए सन्तोष लाग्छ’ उनले भने, ‘जीवनमा अरुका लागि दुःख गरियो । अब घरमा आफ्ना लागि र सुख शान्तिका लागि जागिर र विदेश त्यागेर व्यवसाय रोजेको छु ।’
स्वदेशमा व्यापार व्यवसायबाट आम्दानी हुँदैन भन्ने मनसाय बोकेका युवाका लागि उदाहरण बनेका छन् उनी । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई आगनमै व्यवसाय गर्न उनले सुझाव दिएका छन् । लगानी र लगाव भए स्वदेशमा पनि मनग्य आम्दानी गर्न सकिने उनले बताए । ‘व्यवसायका लागि स्थानीयस्तरमा प्रशस्तै सम्भावना भएकाले रोजगारीका लागि खाडी नपस्न युवाहरू अनुरोध छ’ उनले भने ।
साझा बिसौनी ।