नागरिक सहायता कक्ष स्थापना
हिक्मत नेपाली
दैलेख, १६ असोज ।
चाडपर्व लक्षित गरी जिल्ला सदरमुकाममा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वमा हुनेसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको हो । यात्रुहरूमाथि हैरानी हुने गरेको जनगुनासो बढेसँगै सदरमुकामस्थित नागरिक सहायता कक्ष खडा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दैलेखले मंगलवारदेखि सहायता कक्ष सञ्चालन गरेको हो । चार्डपर्वका बेला सवारीमा सास्ती खेप्नुपरेको जन गुनासो बढ्ने गरेकाले नागरिकको सहयोगका लागि हेल्प डेक्स स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरीक्षक प्रताप केसीले बताए । चाडपर्वको बेलामा हुनसक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरेको बताए ।
नागरिक सहायत कक्ष स्थापनासँगै प्रहरीले चाडपर्वलक्षित गरी सुरक्षा व्यवस्था कडा पारेको छ । यातायात व्यवसायीले क्षमता भन्दा बढी यात्रु राखे वा नराखेको र तोकिएको भन्दा बढी भाडा अशुल गरे वा नगरेको विषयलाई मुख्य रूपमा प्रभावकारी अनुगमन गर्नेछ । ‘यात्रुहरूले यात्राका क्रममा कुनै पनि समस्या खेप्नु परेमा सहायता कक्षमा सम्पर्क राख्न सक्नुहुनेछ’ निरिक्षक केसीले भने, ‘यातायात व्यवसायीले यात्रुसँग बढी भाडा लिने, बढी यात्री र सामान राख्ने लगायतका गल्ती गरेको पाईएमा कारबाही हुन्छ ।’
नागरिक सहायता कक्षबाट दैलेखदेखि सुर्खेत, नेपालगन्ज, काठमाडांै र अन्य जिल्लाबाट दैलेख भित्रिने यात्रुहरू लाभाम्वित हुनेछन् । यात्रा गर्ने क्रममा नागरिकले सवारीका सञ्चालकहरूबाट गरिएका लापरबाहीसहित यात्राका क्रममा हुनसक्ने चोरी, लुटपाट, दुव्र्यवहार, ठगी लगायतका विषयमा पनि उजुरीसमेत लिनेछ । नागरिक सहायता कक्ष स्थापनाका लागि दैलेखबाट सञ्चालन हुने बुलबुले यातायात प्रा.लि.ले व्यवस्थापकीय सहयोग गरेको छ । वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्कमा भने बिहीवार नागरिक सहायता कक्ष स्थापना गरिने सुर्खेत प्रहरीले जानकारी दिएको छ ।
साझा बिसौनी ।