भारतबाट फर्कदै गरेका वृद्ध मृत भेटिए

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ असोज ।
भारतको सीमलामा काम गरेर दशैं मनाउन घर फर्किएका एकजना मृत भेटिएका छन् । युके ०७ पीए १४६२ नम्बरको बसमा सीमलादेखि रूपैडिहा आइरहेका सुर्खेतको गुमी–१ का ७० वर्षका हर्कबहादुर नेपाली मृत भेटिएका हुन् । दम र खोकीको औषधिसमेत साथमा भेटिएका नेपालीको बसमा कतिबेला मृत्यु भयो खुलेको छैन ।
रूपैडिहामा आइपुग्दा मृत भेटिएपछि नाकामा रहेको जमुनाहा प्रहरीलाई खबर गरिएको थियो । जमुनाहाबाट गएको प्रहरी र रूपैडिहाका प्रहरीले नेपालीको झोला हेर्दा दम र खोकीको औषधि, दुई हजार ६ सय रूपैयाँ भारतीय रूपैयाँ फेला परेको छ । दशैं मनाउन घर फर्किने नेपालीको चाप बढिरहेको बेलामा लुटेराको बिगबिगी बढ्ने गर्दछ । बृद्धको हकमा भने लुटेराको हात नदेखिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज शिव ओलीले बताए । ‘झोलामा औषधि रहेकाले उनी दम र खोकीको बिरामी देखिन्छन् । बसमा आउँदा के भएर मृत्यु भयो, बुझ्दैछौं, ओलीले भने ।’ बृद्धको शवलाई पोष्टमार्टमका लागि रूपैडिहा प्रहरीले बहराइच पठाएको छ ।
नेपालीहरूको महान पर्व दशैंलाई घरमा परिवारका साथ मनाउन कमाई गरेर फर्किएका नेपालीको मृत्यु भएको हो । सीमलाबाट रूपैडिहा आएको बसमा नेपालीहरू धेरै रहे पनि नेपालीलाई चिन्ने कोही थिएनन् । उनी बसमा एक्लै चढेको पाइएको छ । साविकको मध्यपश्चिमका पहाडी जिल्लाका मानिसहरू फुर्सदमा भारतमा गएर कमाइ गर्ने र खेती लगाउने बेला तथा चाडवार्डमा घर फर्किने गर्दछन् । यतिबेला नेपालगन्ज नाकामा दशैंमा घर फर्किनेको लर्को नै देखिन्छ ।

प्रकाशित मितिः   १७ आश्विन २०७५, बुधबार १६:१३