आजीवन दलितकै पक्षमा
तानसेन नगरपालिका पाल्पामा वि.सं. २०१८ साल वैशाख २२ गते बुबा रिजलाल विश्वकर्मा र आमा केशकुमारी विश्वकर्माको कोखबाट जन्मिएका हुन् हिरालाल विश्वकर्मा । आमा घरायसी काम गर्ने भए पनि बुबाले भने पुख्र्यौली पेसा गरेरै ६ भाइबहिनीको पालनपोषण राम्रै गरेका थिए । पद्म पब्लिक बहुउद्देश्यीय हाइस्कुल तालसेनबाटै हिरालालले एसएलसी पास गरेर काठमाडौं छिरेका थिए । सानैदेखि चञ्चल तथा मेहेनती स्वभावका हिरालाल विद्यालय पढ्दा कहिल्यै फेल भएनन् । एसएलसीमा हिरालाल पाल्पा जिल्ला प्रथमसमेत भएका हुन् । एसएलसी पास गरेपछि हिरालाल अमृत साइन्स कलेजमा साइन्स लिएर पढ्न थाले । भविष्यमा डाक्टर बन्ने सपना बोकेर हिरालाल साइन्स पढ्न थाले पनि उनको डाक्टर बन्ने सपना पूरा भएन । विभिन्न संघ–संस्थाहरूमा आवद्ध उनी दलित समुदायका बुद्धिजीवि भनेर चिनिन्छन् । विशेष गरी दलित समुदायको मानवअधिकारका लागि लामो समय काम गरेका हिलालालको यही क्षेत्रमा नै अझै योगदान दिने उद्देश्य छ । उनै हिरालालले आफ्नो पेसागत अनुभव साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी सुनाएः
डाक्टर बन्न चाहन्थें । सानैदेखिको लक्ष्य नै यही थियो । एसएलसी उत्तीर्ण गरेपछि डाक्टर बन्ने लक्ष्यसहित साइन्स पढ्न काठमाडौं गएँ । अमृत साइन्स क्याम्पस काठमाडौंमा साइन्स पढ्न थालें । तर दुईवर्षमा प्लस टू सकिने भए पनि हामीहरूलाई त्यति बेला चारवर्ष लागेको थियो । त्यतिबेला विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसले मलाई घाटा लगायो ।
म खासमा यो सामाजिक क्षेत्रमा लागेको ३५ वर्ष भयो । वि.सं. २०४० सालबाट मैले सामाजिक क्षेत्रमा सक्रिय रूपमा लागेको हुँ । म सुरुमा गैरसरकारी संस्थाहरूमा काम गर्ने अवसर पाएँ, त्यतिबेला पनी मैले दलितका मुद्दालाई गहिरिएर अध्ययन गर्थे । आजभोलि मैले दलितहरूको अध्ययनमै बढी ध्यान दिएको छु । उनीहरूको समग्र अवस्था कस्तो छ भन्ने कुराको अध्ययन सँगसँगै मैले प्रशिक्षणसमेत गर्ने गरेको छु ।
समग्रमा हेर्दा नेपालमा दलितहरूको अवस्था निकै दर्दनाक छ । राज्यतहबाट नीति निर्माण गर्ने कुरामा कुनै कमी भएको छैन । तर कार्यान्वयन गर्ने कुरामा भने असफलता नै देखेको छु । विशेष गरी नेपालका अन्य क्षेत्रका दलितको तुलनामा कर्णालीका दलितको अवस्था निकै गम्भीर छ । यही क्षेत्रका तीन जना दलितहरूले छुवाछुतकै कारण ज्यान गुमाउनुप¥र्यो । मलाई खासमा दलित सेवा संघले नै यो क्षेत्रमा काम गर्ने हौसला दिएको थियो । नेपालमा विकास त भएको छ तर समग्रमा मानसिकतामा विकास भएको पाइएको छैन । समग्रमा दलितको स्थिति निकै कमजोर छ त्यसमा पनि दलित महिलाहरूलाई झन् पीडा छ । एकातिर महिला भएकै कारण हिंसा भोग्नुपरेको स्थिति छ भने अर्कोतिर छुवाछुतको पीडा पनी दलित महिलाहरूले भोग्नुपरेको छ ।
दलितका मुद्दामा काम गर्न निकै चुनौती छ । समस्याका पहाडहरू ठूला छन् भने समाधानका उपायहरू निकै साना छन् । उनीहरूको अधिकारको लागि काम गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु । उनीहरूको जीवनस्तर उकास्नका लागि नै मैले यो प्रयास गरिराखेको छु । यो मेरो प्रयास निरन्तर चल्नेछ ।
म डाक्टर बन्ने उद्देश्यले हिँडेको मान्छे डाक्टर बन्न नपाएकोमा मलाई कुनै पछुतो छैन । किनभने एकजना डाक्टरले कति नै बिरामीको उपचार गर्ला र तर मैले देशभरका ४० हजार दलितको माया पाएको छु । मलाई यसमा गर्व लाग्छ । जबसम्म दलितको जीवनस्तरमा परिवर्तन आउँदैन म तबसम्म दलितको क्षेत्रमा काम गर्न छोड्दैन । यहि क्षेत्रमै मैले थुप्रै कमाएको छु । हाल काठमाडौंका टोका नगरपालीका ९ गोग्भुमा मेरो घर छ । हामी चार जनाको परिवार छ । मेरो छोरी पनि सामाजिक क्षेत्रमानै काम गर्छिन् । छोरा इन्जिनियर पढ्दैछन । परिवारको आर्थिक स्थितिमा कुनै समस्या छैन ।
साझा बिसौनी ।