प्रदेश सभाको बैठक २३ गते बस्ने

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ असोज ।
कर्णाली प्रदेशसभाको बैठक यही असोज २३ गते बस्ने भएको छ । गत साउन २५ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको बैठक आगामी असोज २३ गते दिउँसो १ बजे बस्ने भएको हो । सरकारले प्रदेशसभालाई पर्याप्त काम दिन नसक्दा संसद बैठक स्थगित भएको थियो । कर्णाली प्रदेश सभाका अनुसार सभाले यसअघि जम्मा २० वटा विधेयकमध्ये १३ वटा विधेयक पारित गरिसकेको छ । ती १३ वटै विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरी ऐन बनिसकेका छन् ।
‘अन्य पाँच वटा विधेयक समितिमा दफावार छलफलका लागि गएका छन् भने दुईवटा विधेयक संसदमा टेबल हुन बाँकी छ,’ प्रदेशसभाका निमित्त सचिव दिनेश भट्टले भने, ‘अब असोज २३ गतेदेखि बस्ने संसद बैठकमा दुई विधेयक टेबुल गर्ने कार्यसूची छ ।’ हाल सामाजिक विकास समितिमा दुई विधेयक छलफलका लागि पठाइएको छ । समितिले कर्णाली प्रदेश सहकारी विधेयक–२०७५ माथि छलफल सम्पन्न गरिसकेको छ भने सामाजिक संघ–संस्था सञ्चालन सम्बन्धी विधेयकमाथि छलफल थालेको छ । संसदको विधायन समितिमा विभिन्न तीन वटा विधेयक दफावार छलफलका लागि पठाइएको छ ।
जिल्ला सभा सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक २०७५, गाउँ तथा नगरसभा सञ्चालन गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उक्त समितिमा रहेका छन् । आगामी बैठक संसद भवनका लागि मर्मत गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा बस्ने गरी तयारी गरिएको जनाइएको छ । यसअघि सिँचाइ डिभिजन कार्यालयको सभाहलमा बैठक बस्दै आएको थियो ।