संघीयताविरुद्ध विरोधसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ असोज ।
राष्ट्रिय जनमोर्चा सुर्खेतले जिल्लाका विभिन्न स्थानमा कोणसभा सम्पन्न गरेको छ । ‘राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं । संघीयता खारेज गरौं । बढ्दो कर वृद्धि र अनियन्त्रित मूल्य वृद्धिका विरुद्ध संघर्ष गरौं’ भन्ने मूलनारासहित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न स्थानहरूमा कोण सभाहरू गरिएको हो ।
जनमोर्चाले गत शुक्रवारदेखि कोणसभामार्फत् विरोधका कार्यक्रमहरू गर्दै आएको छ । उक्त कार्यक्रम आगामी असोज २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । वीरेन्द्रनगरको नेताचोकबाट उद्घाटन गरिएको कोणसभा मंगलगढीचौक, पिपिराचोक, धुलियाविट, गुरुङ्गचौक र शंकरचौकमा सम्पन्न गरिसकिएको छ ।
उक्त कोणसभाहरूमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदी, सचिव लालबहादुर नेपाली, कोषाध्यक्ष विष्णुप्रसाद शर्मा लगायतले संघीयता खारेज गर्नुपर्ने, जनताको ढाड सेकिने गरी वृद्धि गरिएको कर तथा मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका थिए । उनीहरूले बोझिलो र खर्चिलो संघीय शासन प्रणाली अन्तर्गत बनेको प्रदेश सभाहरूको विघठन गरी स्थानीय स्वशासनमा आधारित प्रजातान्त्रिक विकेन्द्रीयतासहितको एकात्मक राज्य प्रणालीद्वारा स्थानीय तहलाई अहिले भन्दा अझ अधिकार सम्पन्न बनाउनुपर्ने माग पनि गरेका छन् ।

प्रकाशित मितिः   १६ आश्विन २०७५, मंगलवार १७:१३