जीडीपीमा कर्णाली कमजोर

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ असोज ।
कर्णाली प्रदेश कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा निकै कमजोर देखिएको छ । केन्द्रीय तथ्यांक विभाग र मानव विकास प्रतिवेदनका आधारमा मुलुकको कूल ग्राहस्थ उत्पादनमा कर्णाली कमजोर रहेको तथ्यांक सार्वजनिक भएको छ ।
जीडीपीमा प्रदेश ३ को योगदान सबैभन्दा धेरै देखिएको छ । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले आइतवार सार्वजनिक गरेको संघीय संरचनामा आर्थिक गतिविधि अध्ययन अनुसार ७ प्रदेश मध्ये प्रदेश पहिलो नम्बरमा प्रदेश ३ छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेशको रहेको छ । दोस्रोमा प्रदेश १ को १७.५ प्रतिशत, तेस्रोमा प्रदेश २ को १६.२ प्रतिशत योगदान रहेको तथ्यांकले देखाएको छ ।
यस्तै चौथोमा प्रदेश ५ को १३.४ प्रतिशत, पाँचौं स्थानमा गण्डकी प्रदेशको १०.५ प्रतिशत, छैठौं स्थानमा प्रदेश ७ को ६.३ प्रतिशत र कर्णाली प्रदेशको ४.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस्तै वार्षिक प्रतिव्यक्ति आयका हिसाबले पनि प्रदेश ३ नै पहिलो नम्बरमा छ । प्रदेश ३ का नागरिकको प्रतिव्यक्ति आय एक हजार पाँच सय ३४, दोस्रोमा प्रदेश १ को एक हजार २४, तेस्रोमा प्रदेश ४ को एक हजार २१ अमेरिकी डलर रहेको छ । पाँचौं स्थानमा प्रदेश २ को सात सय ९९, छैठौंमा कर्णाली प्रदेशको ६ सय ७७ र सबैभन्दा कम आय प्रदेश ७ को ६ सय ६० अमेरिकी डलर रहेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेशगत रूपमा स्थानीय तहहरूमा वाणिज्य बैंकको पहुँचमा प्रदेश ५ सबैभन्दा अगाडि रहेको छ । प्रदेश ५ का एक सय नौ स्थानीय तहमध्ये ३ वटा तहमा मात्रै वाणिज्य बैंक पुग्न सकेका छैनन् । प्रदेश ७ मा सबैभन्दा बढी २३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् । कर्णाली प्रदेशका २० स्थानीय तहमा, प्रदेश १ का १९ स्थानीय तहमा, प्रदेश ३ का ११ तहमा, प्रदेश २ का ६ तहमा र प्रदेश ४ का ५ तहमा वाणिज्य बैंक अझै पुग्न सकेका छैनन् । सातै प्रदेशका कूल ८७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय पुग्न नसकेको तथ्यांकमा देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेश ५ ले कूल कृषि क्षेत्रको उत्पादनमा १६.९ प्रतिशत, कूल उद्योग क्षेत्रको उत्पादनमा १०.४ प्रतिशत र कूल सेवा क्षेत्रको उत्पादनमा ११.७ प्रतिशत अंश योगदान गरेको छ ।

प्रकाशित मितिः   १५ आश्विन २०७५, सोमबार १७:३०