फर्किन थाले ‘मौसमी लाहुरे’

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ असोज ।
महिना दिन लगाएर खेत रोप्यो, उब्जनीले दुई महिना धान्दैन । तेस्रो महिनादेखि सुरु हुन्छ, खाद्यान्न किन्न र साहुँ कहाँ उधारो लेख्न । परिवारमा आम्दानीको स्रोत अरु केही छैन । गाउँमा ज्याला मजदुरी गरे पनि श्रमको मूल्य नै पाइदैन । दिनभरी काम ग¥यो तीन सयदेखि पाँच सयसम्म पाइन्छ । कति काम त श्रमदान नै गर्नुपर्छ । जग्गा बाँझै राखेर पनि बस्न सक्दैनन्, खेती ग¥यो वर्षदिन पुग्ने गरी बाली लाग्दैन । यसकारण वर्षेनी ज्याला मजदुरीका लागि भारत जान बाध्य छन्, दैलेखको भगवतीमाइ गाउँपालिका–२ रुमका दत्तप्रसाद शर्मा । करिब १५ वर्षदेखि उनी मौसमअनुसार मजदुरी गर्न भारतको गढ्वाल पुग्छन्, त कहिले हिमाचल प्रान्त ।


‘घरमा आम्दानीको स्रोत छैन, खेतीपातीबाटै परिवार पाल्न सकिदैन’ उनले भने, ‘रोजगारीका लागि भारत नगई हुँदैन, उता वर्षातमा स्याऊ टिप्ने, हिउँदमा ठेक्कापट्टाको काम हुन्छ ।’ वर्षामा खेती लगाएर भारत गयो, दशैं–तिहारमा घर आयो । कात्तिकमा खेतीपाती लगाएर फेरि मंसिरमा भारत पुग्यो । हिउँद बिताएर नयाँ वर्षसँगै खेती गर्न बैशाखमा घर आयो । वैशाख, जेठमा घरमा कामकाज ग¥यो, असारमा धान रोपेर पुनः भारत पस्नु उनको बाध्यात्मक कार्यतालिका हो ।
मुलुकमा संघीयता कार्यान्वयन भयो । निर्वाचित भएर जनप्रतिनिधि आए । व्यवस्था फेरियो तर, जीविकोपार्जनका लागि आर्जन गर्न भारत जानुपर्ने उनका बाध्यता भने फेरिएनन् । भन्छन्, ‘देशमा नयाँ व्यवस्था आएको छ, चुनाव जिते घरसम्म खानेपानीदेखि मोटर पु¥याउँछौं, स्वरोजगार बनाउँछौं भनेका नेताले हेर्नै छोडे । काठमाडौंको सिंहदरबारका अधिकार जनताका लागि आएका होला जस्तो लाग्दैन । हाम्रा दुःख जहाँका त्यही छन् ।’
विष्णुप्रसाद शर्मा पनि अध्ययन छोडेरै मजदुरी गर्न भारतको हिमाचल पुगे । उनी उमेरले १८ वर्षका भए । कक्षा ९ मा अध्ययरत छन् । असार लागेपछि विद्यालय पनि बन्द भए, समयको सदुपयोगसँगै घर खर्च कमाइ होला भनेर यो सिजनमा स्याऊ टिप्न भारत गएको हुन् उनी । पढ्नका लागि खर्च जोहो गर्न भारत हानिएको उनी बताउँछन् । ‘परिवारमा पढ्न, लेख्नका लागि कापीकिताव किन्ने पैसाको अभाव हुन थाल्यो’ उनले भने, ‘बुबाको आम्दानीको स्रोत केही छैन, विद्यालय बिदा हुँदा घरमा बस्न भन्दा पढाइखर्च कमाइ होइजाला भनेर इण्डिया गएको हुँ ।’ विष्णु र दत्तप्रसादसहित १५ जनाको युवा टोली मजदुरी गर्न भारत गएका थिए । फरक–फरक समूहमा भारत पसेका उनीहरूको वर्षेनी रोजगारीका लागि भारत जानु रहर होइन् बाध्यता हो ।
भगवतीमाइ–३ का डिल्ली रेग्मीको समस्या पनि उस्तै हो । एघार कक्षामा अध्ययनरत उनी घर खर्च जुटाउन भारत गएका हुन् । भन्छन्, ‘बुबा बितेपछि घरको जिम्मेवारी सम्हाल्नुप¥यो । आर्थिक अभावले घर खर्चको जोहो गर्नै सकस हुन थाल्यो । विद्यालय नखुलेसम्म कमाइ होला भनेरै सीजन लगाउँन भारत पुगियो ।’ डिल्लीसहित चार जनाको टोली रोजगारीका लागि मजदुरी गर्न भारतको हिमाचल प्रदेशमा पुगेको थियो ।
ज्याला मजदुरीका लागि ‘लाउर’ जाने डिल्ली, विष्णु र दत्तप्रसाद त उदाहरण मात्रै हुन् । आम्दानीको स्रोत नहुँदा ज्याला मजदुरी गर्न भारत जाने युवाको संख्या दिनप्रतिदिन बढ्दो छ । सिजन अनुसार युवाहरू मजदुरी गर्न ‘लाउर’ जान थालेपछि कर्णालीका गाउँहरू रित्तो हुने गर्छन् । असार महिनाभरी खेतीपाती गरेर भारत पुगेका मौसमी लाहुरेहरू यतिबेला भने घर फर्किन थालेका छन् । दशंै, तिहार, छठ लगायतका ठूला पर्वहरू नजिकिएसँगै उनीहरूको घर फर्किने क्रम सुरु भएको छ । चाडपर्व
सकिए लगत्तै हिउँदे सीजन कमाउन जाने योजनासहित कतिपय घर फर्किएका हुन् । ‘तिहार लगत्तै रुद्रप्रयाग जाने योजना छ’ वीरेन्द्रनगरस्थित बसपार्कमा भेटिएका दैलेखका तुलाराम
दाहालले भने,‘धान काटेपछि आएर काम गर्ने सम्झौता गरिसकिएको छ । परिवारको रोजीरोटीका लागि मजदुरी नगरी नहुने ।’ हिउँदमा भारत गएपछि वैशाखमा आउने योजना बनाएको उनले बताए ।
भारतका विभिन्न ठाउँमा पैसा कमाउन गएका कर्णालीबासी घर आउन थालेपछि सुर्खेत बसपार्कमासमेत चहल–पहल बढेको छ । दशैं–तिहार नजिकिएसँगै गन्तव्यमा पुग्न बस पाउनै सकस हुने गरेको छ । रूपडियाँ नाकाबाट सुर्खेत हुँदै कर्णालीका कालिकोट, हुम्ला, जुम्ला, डोल्पा, दैलेख, जाजरकोट जिल्ला जाने यात्रुहरूको संख्या बढेको काँक्रेबिहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले बताए । उनका अनुसार यात्रुहरूलाई असुविधा नहुने गरी दशैं, तिहार र छठ लक्षित गरी समितिमा रहेका सबै बसहरू सञ्चालन गरिनेछ ।

प्रकाशित मितिः   १५ आश्विन २०७५, सोमबार १७:३२