महिलाका चुनौतीबारे छलफल
दैलेख, १४ असोज । (साबिस)
ग्रामीण क्षेत्रका महिला र सुरक्षा चुनौतीबारे दैलेखमा छलफल गरिएको छ । पछिल्लो समयमा महिलामाथि हुने हिंसा वृद्धि भएसँगै दैलेखका महिलाका समस्याका बारेमा सरोकारवालाबीच छलफल गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले छाउपडी, छुवाछुत समस्याले सिङ्गो समाज परिवर्तनको बाधक भएको बताए । उनले आ–आफ्नो क्षेत्रबाट समाज रूपान्तरणका लागि महिलामाथि हुने हिंसा न्यूनीकरणमा लाग्न आग्रह गरे । नारायण नगरपालिकाका उप–प्रमुख सावित्री मल्लले अपराधीलाई कानुनको कठघरामा उभ्याउनका लागि सबैले खबरदारी गर्नुपर्ने बताइन् ।
आइतवार जिल्ला सदरमुकाममा भएको ‘महिला सुरक्षा र चुनौती’ विषयक कार्यक्रममा बलात्कारका घटना, उमेर नपुग्दै बालविवाह, छाउपडी समस्या, घरेलु हिंसा र महिला हिंसा लगायतका समस्या महिलाहरू पीडित रहेको बताइएको छ । क्रियाशील महिला पत्रकार समूह दैलेखका अध्यक्ष ज्योती कटुवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।
साझा बिसौनी ।