राष्ट्रिय नाटक महोत्सवको तयारी सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ असोज ।
सुर्खेतमा आगामी मंसिर ६ गतेदेखि राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । महोत्सव हुने मिति घोषणा भएसँगै सुर्खेतका त्यसका लागि आवश्यक तयारी सुरु भएको छ ।
सांस्कृतिक संस्थानको आयोजनामा महोत्सवको तयारीका लागि सुर्खेत आइपुगेका संस्थानका महाप्रवन्धक राजेश थापाले महोत्सव सफल पार्न तयारी सुरु भएको जानकारी दिए । ‘कर्णालीको राजधानी सुर्खेतमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव गर्दैछौं’ महाप्रबन्धक थापाले भने, ‘समग्र कर्णाली खस भाषाको उद्गम स्थल मात्र होइन, कला र संस्कृतिको तीर्थ स्थल पनि हो ।’
महोत्सवमा लाग्ने खर्च आधा सांस्कृतिक संस्थान र आधा स्थानीय सह–आयोजकहरूले व्यहोर्ने थापाले जानकारी दिए । सुर्खेत कला संस्कृतीको धरोहरका रूपमा रहेर पनि एउटा नाटक घर समेत नभएको दुःख व्यक्त गर्दै थापाले त्यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अनुरोध गरिएको बताए । स्थानीय सह–आयोजक समितिका संयोजक एवम् वरिष्ठ रङ्गकर्मी गणेशभक्त गौतमले कर्णालीका सबै कला संस्कृति संरक्षणमा लागेका संस्थाको सहयोगमा नाटक महोत्सव सम्पन्न हुने बताए ।
‘वास्तविक नाटकको स्वाद दर्शकले चाख्न पाउने गरी नाटक महोत्सव गर्दैछौं’ उनले भने, ‘सांस्कृतिक संस्थानले बाहिर देशका रङ्गकर्मीहरूलाई पनि निम्तो दिनेछ र हाम्रो नाटक विश्वभर चिनिनेछ ।’
आधुनिक थिएटरको अभावका वीचमा पनि अस्थायी थिएटरमा ध्वनी र प्रकाशको संयोजनमा वास्तविक नाटकको स्वाद चखाउने रङ्गकर्मीहरूको भनाइ छ ।
वरिष्ठ कलाकार प्रेमदेव गिरीले वि.सं. १९९४ मा सुर्खेतको गोठीकाँडामा एउटा मन्दिरको प्राङ्गणमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको स्मरण गर्दै वि.सं. २०२० सालमा पहिलो पटक आफ्नै सक्रियतामा गोठीकाँडामै ‘सत्य हरिषचन्द्र’ नाटक मञ्चन गरिएको बताए । यस पटकको राष्ट्रिय महोत्सव ऐतिहासिक हुने दाबी गर्दै वरिष्ठ कलाकार गिरीले सुर्खेतले वि.सं. २०५१ सालदेखि नै पटक–पटक केन्द्रमा आयोजना हुने राष्ट्रिय नाटक महोत्सवमा भाग लिंदै आएको बताए ।
नाटक महोत्सवका लागि सांस्कृतिक संस्थानले नेपालका वरिष्ठ रङ्गकर्मीहरू हरिहर शर्मा, अनुप बराल, अशेष मल्ल लगायत बंगलादेश, भारत र केही बाहिर देशका कलाकारलाई पनि बोलाउने जनाएको छ । ती कलाकारसँग देशभरका कलाकारले नाट्य क्षेत्रका विविध पक्षका बारेमा सहकार्य गर्ने तथा छलफल गर्ने जनाइएको छ ।
महोत्सवमा मुलुकका सात वटै प्रदेशका २÷२ वटा नाटक सहभागी हुने गरी १४ र सह–आयोजकको एउटा गरी १५ वटा नाटक मञ्चन हुने आयोजक सांस्कृतिक संस्थानले जनाएको छ । सह–आयोजकको रूपमा आरङ्ग नेपाल, बागीना समूह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, भैरव कला परिवार, सप्तरङ्गी मोडेल तथा आर्टस् लगायत कर्णाली प्रदेशका सबै सांस्कृतिक संस्थाहरू रहनेछन् ।

प्रकाशित मितिः   १५ आश्विन २०७५, सोमबार १७:२८