‘चीन भ्रमण उपलब्धिमूलक’
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ असोज ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि चीन भ्रमण फलदायी भएको बताएका हुन् ।
उनले हिल्सा–जमुनाहा द्रूतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको बताए । ‘चीन सरकारको चाइना हाइवे कम्पनीसँग भएको समझदारी अनुसार द्रूतमार्गको ‘भिजीबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भे काम पहिलो चरणमा हुन्छ’ उनले भने, ‘कर्णालीमा चीन सरकार लगानी गर्न इच्छुक भएकाले संघीय सरकारको अनुमति लिएर प्रदेश सरकारले काम अगाडि बढाउँछ ।’
कर्णाली एयरलाइन्स स्थापना, विमानस्थल निर्माण लगायतका विकास निर्माणका विषयमा चिनियाँ लगानीकर्ताहरूसँग छलफल भएको मुख्यमन्त्री शाहीले बताए । कर्णालीमा आन्तरिक उडान र अन्तरप्रदेशीय उडानका लागि कम्तीमा दुई वटा विमान खरिद गर्ने योजना बनाएको उनले बताए । ‘चीन सरकारसँग ऋण सहयोगका लागि आग्रह गरिएको छ र सकारात्मक प्रतिक्रिया आएको छ’ उनले भने, ‘आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माणका लागि हाल वीरेन्द्रनगस्थित एयरपोर्टलाई स्तरोन्नति गर्ने र छिञ्चुमा अन्तर्राष्ट्रियस्तरकै विमानस्थल बनाउने गरी सरकार लागिपरेको छ ।’
चीनको सिचुवान प्रान्तका गभर्नर यिनलीको निमन्त्रणामा मुख्यमन्त्री शाहीसहित पाँच सदस्यीय टोली असोज ३ गते चीन गएको थियो । भ्रमणका क्रममा मुख्यमन्त्री शाहीको टोली सिचुवानमा आयोजित १७ औंं वेस्टर्न चाइना इन्टरनेशनल फायर बेल्ट एण्ड रोड डेभलपमेन्ट कन्फ्रेन्समा सहभागी भएका थिए । टोलीमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र सांसद धर्मराज रेग्मी सहभागी थिए ।
साझा बिसौनी ।