हिमाली पुस्तकालयको साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ असोज ।
हिमाली पुस्तकालय सुर्खेतको अध्यक्षमा तुलाराम तिवारी चयन भएका छन् । पुस्तकालयको शनिवार सम्पन्न वार्षिक साधारणसभाले तिवारीको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा किरण सापकोटा, सचिवमा दिव्यराज खड्का, सह–सचिवमा सरस्वती गौतम र कोषाध्यक्षमा खेम रावत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा नविन खड्का र बलराम रेग्मी चयन भएका छन् भने थप दुई जना सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
साधारणसभाको उद्घाटन गर्दै कर्णाली प्रदेशसभाका सदस्य यामलाल कँडेलले हिमाली पुस्तकालयको इतिहास गौरवपूर्ण रहेको भन्दै यसलाई संरक्षण र सदुपयोग गर्दै लैजानुपर्ने धारणा राखे । पुस्तकालयका निवर्तमान अध्यक्ष ऋषि रेग्मीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । वि.सं. २०२४ सालमा सुर्खेतकै गोठीकाँडामा स्थापना भएको हिमाली पुस्तकालय हाल वीरेन्द्रनगर–४ भैरवस्थानमा रहेको छ ।