ग्रामीण बस्तीमा प्रहरीको साइकल गस्ती

जगतदल जनाला बिक
सुर्खेत, १३ असोज ।
ग्रामीण बस्तीमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीले नयाँ अभियान सुरु गरेको छ । दशैं, तिहार, छठ जस्ता चाडपर्वहरू नजिकिएसँगै हुने आपराधिक गतिविधि लक्षित गरी इलाका प्रहरी कार्यालय बावियाचौरले बस्ती–बस्तीमा साइकल गस्ती अभियान थालेको हो ।
इलाका प्रहरी कार्यालय बावियाचौरले आपराधिक घटना, लागूऔषध, घरेलु मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम तथा जनचेतनामूलक कार्यक्रम गर्न बस्ती–बस्तीमा पुग्न साइकल गस्ती सुरु गरेको हो ।


पञ्चपुरी नगरपालिकाले इलाका प्रहरी कार्यालयका लागि प्रदान गरेका पाँच वटा साइकलमार्फत् हरेक दिन साइकलमा गस्ती गरिने भएको हो । इलाका प्रहरी कार्यालय बावियाचौरका इन्चार्ज प्रहरी निरीक्षक सुशोभन श्रेष्ठका अनुसार गाडी नपुग्ने बस्तीहरूमा पनि पुग्न सकिने भएकाले साइकल अभियान थालिएको हो । सीमित जनशक्ति र स्रोतसाधनकाबीच पनि शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बस्ती–बस्तीमा प्रहरी पुग्ने उनले जानकारी दिए । बस्तीमा पुगेर प्रहरीले शान्ति सुरक्षामा भएका चुनौती र समस्याको पहिचान गर्न मद्दत पुग्ने अपेक्षा लिइएको छ ।
टोल–टोलमा प्रहरी अभियान अन्तरगत साइकल अभियान थालिएको हो । प्रहरीको गस्ती टोलीले गुण्डागर्दीमा संलग्न व्यक्तिमाथि निगरानी, त्यहाँ भएका झै–झगडा लगायतमा निगरानी गर्नुका साथै जनचेतनामूलक कामहरू पनि गर्दै आएको छ ।
‘प्रहरी मेरो साथी र टोल–टोलमा प्रहरी अन्तर्गत पश्चिममा थुप्रै जनचेतनाका कार्यक्रमहरू गर्दै आएका छौं’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘भौगोलिक विकटता र साधन स्रोतको अभावका कारण समयमा प्रहरी पुग्न चुनौती छ ।’
पश्चिम सुर्खेतको चौकुने, पञ्चपुरी र बराहतालको शान्ति सुरक्षा हेर्दै आएको प्रहरीचौकीका लागि एउटा भ्यान मात्रै उपलब्ध छ । त्यही पनि पटक–पटक बिग्रिने गरेको छ । जसकारण समयमा प्रहरीलाई घटनास्थल पुग्न निकै चुनौती हुने गरेको उनले जानकारी दिए ।
भौगोलिक विकटताका कारण प्रत्येक बस्तीमा मोटर साइकल, गाडी नजाने भएकाले प्रहरीलाई शान्ति सुरक्षामा सहज होस् भन्ने उद्देश्यले ५० हजार बराबर लागतमा साइकल खरिद गरिएको नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताए ।

प्रकाशित मितिः   १४ आश्विन २०७५, आईतवार १७:०५