उपचार नपाएरै जान्छ ज्यान
जगतदल जनाला बिक
सुर्खेत, १२ असोज ।
गत साउन २२ गते पञ्चपुरी नगरपालिका–१० तातापानीकी हरिकला उपाध्यायलाई सर्पले टोक्यो । बिहान साढे ५ बजे शौचालय गएको बेला सर्पले टोकेपछि उपचारका लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ लैजाँदै गर्दा १४ वर्षीया हरिकलाको बाटोमा मृत्यु भयो ।
यस्तै गत भदौ १६ गते पञ्चपुरी नगरपालिका–४ बरैचेकी आठ वर्षीय लक्ष्मी शाहीको पनि सर्पदंशको उपचार नपाएर मृत्यु भयो । बिहान ६ बजे कोठामा सुतेको बेला सर्पले टोकेपछि उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बीच बाटोमै लक्ष्मीले ज्यान गुमाइन् ।
सर्पले टोकेपछि समयमै उपचार नपाएर ज्यान गुमाउने लक्ष्मी र हरिकला दुई जना मात्र भने होइनन् । पश्चिम सुर्खेतका थुप्रै नागरिकले वर्षेनी यसरी नै अकालमा ज्यान गुमाइरहेका छन् । पश्चिम सुर्खेतमा सर्पले टोकेपछि उपचार पाउने न भरपर्दो स्वास्थ्य संस्था नजिक छ, न त वर्षामा यातायातका साधन नै पश्चिम पुग्छन् । असार लागेपछि गाडी गुटुबाट अगाडि जादैनन् । ग्रामीण क्षेत्रको कच्ची सडक वर्षा लागेपछि अवरुद्ध हुन्छ । लगामबाट उपचारका लागि बिरामी बोकेरै गाडी भेट्न झण्डै चार÷पाँच घण्टा पैदल हिँड्नुपर्छ । सदरमुकामस्थित क्षेत्रीय अस्पताल पुग्न बिरामीलाई एक दिन लाग्छ । जसले गर्दा अस्पताल नपुग्दै बिरामीको मृत्यु हुने गरेको छ । ‘सर्पले टोकेको थाहा भए पनि एम्बुलेन्स खोज्न समय लाग्यो’ लक्ष्मीकी आमा रत्ना शाहीले भनिन्, ‘समयमै उपचार नपाउँदा छोरी नै गुमाउनुपर्यो ।’
उपचारका लागि स्वास्थ्य संस्था टाढा भएर मात्र होइन परम्परागत अन्धविश्वासका कारण पनि पश्चिम सुर्खेतका कैयौं नागरिकले ज्यान गुमाइरहेका छन् । सर्पले टोकेपछि तत्काल अस्पताल पु¥याउनुको सट्टा झारफुकमा लाग्नाले पनि कतिपयले ज्यान गुमाउने गरेका हुन् । झारफुकबाट निको नभएपछि अस्पताल लैजादा ढिला हुने गरेको छ । तर अस्पताल टाढा भएपछि झारफुक गर्नुपर्ने बाध्यता रहेको स्थानीय नागरिकको भनाइ छ । ‘अस्पतालसम्म पुगुञ्जेल जोगाउनु त प¥यो’ पञ्चपुरी–५ की पाउसरा रावलले भनिन्, ‘अन्धविश्वास नभइ बाध्यताले सर्पले टोकेपछि झारफुक गर्ने गर्छौं ।’
उपचारको अभावले सर्पदंशबाट हरिकला र लक्ष्मी जस्ता पश्चिम सुर्खेतमा नागरिकहरूले वर्षेनी ज्यान गुमाउँदै आएका छन् । पञ्चपुरी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार असोजको दोस्रो हप्तामा मात्रै १५ जना सर्पदंशका बिरामीहरू उपचारका लागि स्वास्थ्य संस्था पुगेका छन् । तर सर्पले टोकेपछि प्राथमिक स्वास्थ्य केन्द्र सालकोट पुग्ने बिरामीले उपचार नपाएर फर्किने गरेका छन् । सर्पदंशको उपचारका लागि स्वास्थ्यचौकीलाई अनुमति नदिइएकाले बिरामीहरू क्षेत्रीय अस्पतालमा रिफर गर्ने गरिएको छ । रेबिज सेन्टरको अनुमति पाए पनि भ्याक्सिन चिस्याउन फ्रिज प्रयोग बिहीन बनेको छ । आवश्यक विद्युत नहुँदा रेबिजको औषधि राख्ने फ्रिज प्रयोगमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका डाक्टर सन्दिप महतले बताए । सर्पदंश उपचार केन्द्रको स्थापनाका लागि प्रदेश सरकारदेखि संघीय सरकारसम्म गुहार गरिएको उनले जानकारी दिए ।
कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले पश्चिम सुर्खेतमा सर्पको टोकाइबाट हुने बिरामीको उपचारका लागि पहल भइरहेको बताए । उनले सर्पदंश उपचार केन्द्र स्थापनाका लागि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागमा लिखित तथा मौखिक रूपमा जानकारी गराइएकोसमेत जनाए ।
साझा बिसौनी ।