किशोरीमाथि सामूहिक बलात्कार

साझा बिसौनी संवाददाता
कालिकोट, १२ असोज ।
कालिकोटको खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । ती किशोरीमाथि बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । यही असोज ९ गते बेलुका धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले स्थानीय आठ जना युवालाई पक्राउ गरेको हो ।
पीडितले किटाणी जाहेरी दिएको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी बिनोद शर्माले बताए । यो घटनामा संलग्न भएको अभियोगामा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक पक्राउ परेका छन् ।
पीडितले जाहेरी दिएपछि जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्मा, प्रहरी इन्स्पेक्टर निरोज चौलागाई लगायतका ५० जना प्रहरीको सक्रियतामा १० गते राती ३ बजे उनीहरूलाई पक्राउ गरिएको हो । शर्माले सामूहिक बलात्कारका क्रममा युवती बेहोस भएपछि मरी भनेर फरार भएका अभियुक्तलाई नातागोताको घर र पाखाकै लेकाली क्षेत्रबाट पक्राउ गरिएको हो । न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आएकी पीडित युवतीले आफूले केही ती वर्षअघि पाखामा पसल चलाएको बेला पर्व विकले लगेको पाँच सय उधारो फिर्ता माग्दा बलात्कारको शिकार भएको बताएकी छन् ।