शिक्षक परीक्षामा, विद्यालय बन्द

परीक्षा आउनुभन्दा एक साताअघिदेखि नै विद्यालय बन्द गरेर शिक्षकहरु परीक्षा तयारीमा जुटेका हुन् ।

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ असोज ।
चौकुने गाउँपालिका–२ लगामस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विगत एक हप्तादेखि बन्द छ । विद्यालयका अधिकांश शिक्षकहरू स्थायी नियुक्तिका लागि शिक्षक सेवा आयोगले लिने परीक्षाको तयारीमा जुटेपछि विद्यालय बन्द गरिएको हो । विद्यालयले सूचना टाँस गरी ४ गतेदेखि १३ गतेसम्मका लागि विद्यालय बन्द गरेको हो ।
१९ जना शिक्षक कार्यरत रहेको उक्त विद्यालयमा १४ जना शिक्षक परीक्षा दिन जिल्ला बाहिर गएका छन् । पर्याप्त शिक्षक नहुँदा विद्यार्थीहरूलाइ पढाउन नसकिने भन्दै विद्यालय नै बन्द गरिएको हो । उक्त विद्यालयमा पाँच सय विद्यार्थी अध्ययनरत छन् । गाउँ शिक्षा शाखाको अनुमति लिएर विव्यस बैठकबाट विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार नै सूचना निकालेरै विद्यालय बन्द भएको प्रधानाध्यापक लालबहादुर थापाले बताए ।
एक सातासम्म विद्यालय बन्द हुँदा पढाइ प्रभावित भइ समयमा पाठ्यक्रम सक्न समस्या हुने भएको छ । यद्यपि विद्यार्थीहरूको पढाइ प्रभावित नहुनेगरी र पाठ्यक्रम समयमा सक्ने गरी दशैं, तिहार र चिसो बिदा कटाएर शिक्षकहरूलाई अध्यापन गर्न लगाउने निर्णय विद्यालय व्यवस्थापन समितिले गरेको छ ।
यस्तै पञ्चपुरी नगरपालिका–५ स्थित विद्याज्योति माध्यमिक विद्यालय पनि पाँच दिनदेखि बन्द छ । २२ जना शिक्षक मध्ये १२ जना शिक्षक परीक्षा दिन गएका छन् । विद्यालयमा शिक्षक कम र विद्यार्थी धेरै भएपछि बाध्यताले बन्द गरिएको विद्यालयले जनाएको छ । विद्यार्थी विद्यालयमा आउने तर पढ्न नपाउने भएकाले बिदा गरिएको प्रधानाध्यापक कृष्ण सापकोटाले जनाए । शिक्षक अभावले एक हजार विद्यार्थीलाई कक्षा सञ्चालन गर्न असहज हुने भएपछि बिदा गरिएको उनको भनाइ छ । पाँच दिनका लागि खेताला शिक्षक राख्नुको सट्टा विद्यालय बन्द गरिएको उनले बताए । वर्षे बिदामा १० दिन पछिसम्म पढाएको र आगामी दिनमा पनि बिदा कटौती गरेर विद्यालयमा पठन पाठन नियमित गराउने उनले जानकारी दिए ।
उल्लेखित दुई विद्यालय मात्र होइन, शिक्षक सेवा आयोगको परीक्षा दिन शिक्षक जिल्लाबाहिर गएपछि जिल्लामा अधिकांश सामुदायिक विद्यालयहरू बन्द भएका छन् । सुर्खेतका अधिकांश शिक्षक आयोगको परीक्षाका लागि बाँके जानुपर्ने भएपछि जिल्लाका अन्य पाँच स्थानीय तहले चौकुने जस्तै विद्यालय बन्द गर्ने निर्णय त गरेका छैनन्, तर अधिकांश विद्यालय बन्द छन् । शिक्षा सेवा आयोगले आज (शुक्रवार) देखि आइतवारसम्म प्रावि, निमावि र मावि तहको शिक्षक दरबन्दी पूर्ती गर्न परीक्षा लिने भएको छ । करार तथा राहात दरबन्दीमा कार्यरत
शिक्षकहरू सोही परीक्षामा सहभागि हुन बाह्य जिल्ला गएपछि सुर्खेत लगायतका कर्णालीका अधिकांश जिल्लाका सामुदायिक विद्यालयमा बन्द गरिएको छ ।
सट्टा शिक्षक राखेर परीक्षामा कतिपय विद्यालयले भने परीक्षा अवधिभरका लागि सट्टा शिक्षक राखेर भए पनि पढाइ नियमित गरिरहेका छन् । दैलेखको भगवतिमाई गाउँपालिका लगायत अन्य स्थानीय तहमा सट्टा शिक्षक राखेर शिक्षकहरू परीक्षा दिन गएका छन् । तर यसरी राखिएका शिक्षकहरूमा शिक्षण सिकाइ अनुभव नहुँदा सिकाइ प्रभावकारी हुन नसकेको गुनासो विद्यार्थीहरूको छ ।
अन्य समयमा पनि नियमित विद्यालय उपस्थित नहुने ग्रामीण क्षेत्रका कतिपय शिक्षकहरू लामो समयसम्म बिदामा बस्दा र सट्टा शिक्षक राखेर पढाउँदा गुणस्तरीय तथा प्रभावकारी शिक्षा पाउन नसकेको गुनासो एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूले गरेका छन् । अधिकांश विद्यालयमा माघ अन्तिमसम्म मात्रै एसईई परीक्षामा सहभागी विद्यार्थीहरू अध्ययन गर्छन् । जेठ महिनादेखि नियमित अध्ययन थालेका विद्यार्थीहरू वर्षे बिदा, दशैं, तिहार र छठ लगायतका पर्वमा विदा हुँदा कोर्ष नसकिने हो कि भन्ने चिन्तामा छन् । विद्यालय सञ्चालन नहुँदा कोर्ष नसकिएपछि ट्युसन पढाउने र पैसा असुली गर्ने प्रचलन ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विगतदेखि नै कायम छ ।
नियमानुसार विद्यालय नै बन्द गर्न नमिल्ने भए पनि शिक्षकहरूको स्थायी नियुक्तिको परीक्षा भएकाले सम्बन्धित निकायले पनि यसलाई नजरअन्दाज गरेकाछन् । शिक्षा समन्वय इकाई सुर्खेतका सूचना अधिकारी भोजप्रसाद लम्सालले परीक्षाका लागि अर्को जिल्ला जानुपर्ने, परीक्षा केन्द्र खोज्नुपर्ने, डेरा व्यवस्था गर्नुपर्ने लगायतका कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

प्रकाशित मितिः   १२ आश्विन २०७५, शुक्रबार १६:१९