क्षमतावान् नेता बन्ने लक्ष्य
वीरेन्द्रनगर–९ का मिलन बिसी बुबा सुरेन्द्रबहादुर बिसी र आमा आशा बिसीको कोखबाट जन्मिएका हुन् । घरका एक्ला छोरा उनी सानैदेखि पढाइमा तेज थिए । समाज सेवामा सानैदेखि रुची राख्ने मिलनको भविष्यमा क्षमतावान् नेता बन्ने सपना छ । नेपालमा अशिक्षित नेताहरुका कारण देश बिग्रिएको बताउने मिलनले ईन्जिनियरिङ्ग पढेर भविष्यमा राजनीति गर्ने सपना देखेका छन् । राजनीतिमा बुबा–आमाको समेत सहयोग भएकोले सजिलो भएको बताउने मिलन बिसीले आफ्नो कलेज लाइफबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी सुनाएः
म सानैदेखि पढाइमा तेज थिएँ । कक्षा ८ सम्म कहिल्यै सेकेण्ड भइनँ, सधैं प्रथम हुन्थें । भ्याली मेरीडियन बोर्डिङ्ग स्कुलको विद्यालय टपर पनि हुँ । पछिल्लो समय समाजसेवा र राजनीतिमा लाग्ने गरेको कारण पढाइ अलि बिगारेको महसुस आफैले गरेको छु । म घरको एक्लो छोरा, बहिनीहरू दुई जना छन् । बुबा शिक्षक पेशाबाट सेवानिवृत्त हुनुहुन्छ । अहिले नमुना कृषक पनि बन्नु भएको छ ।
भ्याली मेरिडियन बोर्डिङ्ग स्कुलबाट मैले वि.सं. २०६९ सालमा एसएलसी उत्तीर्ण गरें । एसएलसीपछि साइन्स पढ्ने ईच्छा थियो । बुबा–आमाको इच्छा पनि छोरो साइन्स पढेर पछि ईन्जिनियर बनोस् भन्ने नै थियो । बुबा–आमाको र मेरो आफ्नो सपना पूरा गर्नको लागि म अहिले सिभिल ईन्जिनियर पढिरहको छु । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा मैले ईन्जिनियरिङ्ग पढ्दैछु ।
मेरो कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । मैले कलेजको पहिलो दिनमै साथी बनाएँ । कलेजबाट फर्कंदा पनि रमाइलै भयो । आफ्नो र बुबा–आमाको सपना पूरा हुने कुरामा म ढुक्क पनि थिएँ ।
कलेजको पढाइ र विद्यालयको पढाइमा मलाई एकदमै फरक लाग्यो । कलेजमा शिक्षकहरूको त्यति निगरानी पनि हुँदैन तर विद्यालयमा शिक्षकहरूको निगरानीमा विद्यार्थी बस्नुपर्ने भएकोले केही अनुशासित पनि भइन्छ । कलेजमा अनुशासन नै हुँदैन भन्न खोजेको होइन तर पनि विद्यालयको जस्तो वातावरण कलेजमा पाइदैन । विद्यालयमा रमाइलो बढी हुने तर कलेजमा जिम्मेवारी बढी हुने । भविष्य कस्तो बनाउने त्यो विद्यार्थी आफैमा भरपर्ने गर्दछ । कलेज भविष्य बनाउने बाटो हो । म कलेजबाहेक घरमा त्यही चार घण्टा जति पढ्ने गर्दछु । बाँकी समय समाज सेवा र राजनीतिमा पनि बिताउने गर्दछु ।
मैले कलेज पढ्दा धेरै पटक क्लास बंक गरेको छु तर त्यो समाज सेवाको लागि मात्रै हो । साथीहरूको लहैलहैमा लागेर डुल्न र रमाइलो गर्नको लागि भने मैले यस्तो काम कहिल्यै पनि गरिनँ । अतिरिक्त क्रियाकलापहरूमा मेरो रुची भएकोले पनि क्लास छोड्नै पर्ने । कक्षामा बसीरहेको बेलामा जरुरी काम परेको बेलामा क्लास बंक गर्नै पर्ने तर शिक्षकहरूको गाली भने खाुनपरेको छैन । बरु शिक्षकहरूले क्लास नछोड्नलाई आग्रह गर्नुहुन्छ । मलाई कलेजको सबै पक्ष राम्रो लाग्छ त्यसमा पनि विशेषगरी कलेजको लाईन क्लियर हुन्छ । भविष्यमा के बन्ने भन्ने कुरा कलेज पढ्दा कुन विषय लिएर पढिन्छ यसै पनि थाहा हुन्छ ।
नराम्रो पक्ष त कलेजको खासै छैन र पनि मलाई शिक्षकहरूको धेरै निगरानि हुँदैन त्यो मलाई अली मन पर्दैन तर बाध्यता शिक्षक भन्दा विद्यार्थी ठूला हुन्छन् । म कलेज पढ्ने बेलामा फिल्म हेर्न भने गएको छैन । बिदाको बेलामा साथीहरूसँग गएको छु ।
मेरो विचारमा प्रेम त्याग हो । हरेक कुरा प्रेमको लागि मान्छेले त्यागेको हुन्छ । कुनै महिला प्रेमकै लागि माइती त्यागेर विवाह गर्दछ । पुरुषमा कुनै कुराको कुलत छ भने प्रेमकै लागि उसले कुलत त्याग्न सक्छ । प्रेम हरेक कुराको त्याग हो । तर मैले प्रेम त गेरको छैन । मेरो लागि प्रेम भनेको मेरो घरपरिवार र मेरो भविष्य हो । म सानो छँदा समेत दायाँबायाँ त्यति ध्यान दिइनँ, पढाइलाई मात्रै ध्यान दिएँ । अहिले पनि मैले पढाइलाई विशेष ध्यान दिने गरेको छु ।
नेपालमा क्षमतावान् नेता नै छैनन् । राजनीतिको क्षमता त होला तर नीति तथा शैक्षिक क्षमता छैन । म सिभिल ईन्जिनियर पढ्दै छु । मेरो अरु उद्देश्य केही छैन । म ईन्जिनियर पढेरै राजनीतिमा जाने हो । मलाई जागिरको माया छैन । राजनीति गर्नकै लागि मैले ईन्जिनियर पढेको हुँ । अहिले पनि म राजनीतिमा सक्रिय छु । मेरो भविष्यको लक्ष्य राजनीति हो ।
साझा बिसौनी ।