कृषकको हौसला बढाउन कृषि मेला

हिक्मत नेपाली
दैलेख, ११ असोज ।
कृषि तथा लद्यु उद्यमीहरूको हौसला बढाउन दैलेखमा लघु घरेलु कृषि उद्यम प्रदर्शनी तथा हाट बजार मेला सञ्चालन गरिने भएको छ । ‘बेरोजगारका लागि लगनशीलता, गरिबी न्यूनीकरणका लागि उद्यमशीलता’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको हो । धार्मिक, पुरातात्विक, ऐतिहासिक, प्राकृतिक सम्पदाको दृष्टिले परिचित दैलेखलाई आत्मनिर्भर, समृद्ध, स्वरोजगारयुक्त बनाइ परनिर्भरता घटाउने उद्देश्यसहित मेलाको आयोजना गरिएको हो ।
नारायण नगरपालिका र जिल्ला लघु उद्यमी समूह संघद्वारा सयुक्त रूपमा आयोजित मेला यही असोज १९ देखि २३ गतेसम्म सदरमुकामको टुँडिखेलमा सञ्चालन हुनेछ । मेलामा जिल्लाका ११ वटै स्थानीय तहका कृषक, उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको खरिद–बिक्री गरिने जिल्ला लघु उद्यमी समूह संघका अध्यक्ष कविराज खत्रीले बताए ।
त्यसका साथै दशैंको अवसरमा आम उपभोक्ताहरूले सुलभ दरमा दैनिक उपभोग्य वस्तु खरिद गर्न पाउने उनले जानकारी दिए । जिल्लाका ११ वटै स्थानीय तहका स्टलहरू राखी हरेक स्थानीय तहका घरेलु उद्यमीहरूले कुन–कुन वस्तुहरू उत्पादन
गरिरहेका छन्, बजार अवस्था कस्तो छ, कति परिमाणमा उत्पादन भइरहेको छ, कृषकहरूलाई व्यवसायिक बनाउन कसको भूमिका के भन्ने विषयमा जानकारीसमेत गराइने छ ।
मेला अवधिभर जिल्लामा रहेका कला संस्कृतिहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । मेलामा सहभागि कृषकहरूलाई पुरस्कारसमेत प्रदान गरिनेछ ।
मेला अवधिभर झण्डै ४० हजार दर्शकले मेला अवलोकन गर्नुका साथै सबै स्टलहरूबाट एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । हाल दैलेखमा दुई हजार नौ सय लघु उद्यमीहरू रहेका छन् ।

प्रकाशित मितिः   १२ आश्विन २०७५, शुक्रबार १६:१६