कुपोषण न्यूनीकरण

हस्त चौलागाँइ
कालिकोट, ११ असोज ।
कालिकोट जिल्लामा गत वर्ष भन्दा यो वर्ष कुपोषण न्यूनीकरण भएको पाइएको छ । जिल्ला अस्पताल कालिकोटको तथ्यांक अनुसार कुपोषण भएका बालबालिकाको संख्या घटेको हो ।
नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वाास्थ्य तथा पोषण सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन भएपछि कुपोषणको अवस्थामा कमी आएको हो । गत वर्ष जिल्लामा पाँच प्रतिशत बालबालिका कुपोषित थिए भने यस वर्ष घटेर चार प्रतिशतमा झरेको अस्पतालले जनाएको छ । दुई वर्ष मुनीका कम तौल भएका बालकको संख्या गत वर्ष २० प्रतिशत थियो भने यो वर्ष १३ प्रतिशत रहेको छ ।
कालिकोट जिल्लामा कडा खालको कुपोषणबाट प्रभावित बालबालिकाको संख्या गत वर्ष आठ सय ८३ जना
थियो । उक्त संख्या घटेर यो वर्ष पाँच सय १२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका पोषण फोकल पर्सन कटकबहादुर महतले जानकारी दिए । महतका अनुसार गत वर्ष पाँच सय ९० जनाको कुपोषणको उपचारबाट निको भएको थियो भने यो वर्ष चार सय आठ जना निको भएका छन् । शीघ्र कुपोषण, बहिरंग उपचार सेवा र बालबालिकाको लागि उत्पादन गरिएको पिठो (लिटो) वितरणका कारण कुपोषण न्यूनीकरण भएको महतले जनाए ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको तथ्यांक अनुसार पोषिलो पिठो प्रयोग गर्ने महिला, बालबालिकाको संख्या गत वर्ष १० हजार नौ सय ७२ जना रहेको थियो भने यो वर्ष १० हजार ६ सय ६१ जना रहेको तथ्यांकमा छ । कुपोषित भएका बालबालिकामध्ये ६० प्रतिशत भन्दा बढी बालिका, ६० प्रतिशत भन्दा बढी दलित समुदायका रहेको पाइएको छ ।
दलित र बालवालिका कुपोषित देखिनुको कारण भने लैंगिक विभेद, गरिबी, रुढिवादी संस्कार, तयारी खानाको प्रयोग लगायत भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. विवश पराजुलीले बताए । डा. विवशका अनुसार यो वर्ष कुपोषणमा कमी आउनुको कारण बहुक्षेत्रीय पोषण कार्यक्रम लागू हुनु, शीघ्र कुपोषण एकीकृत व्यवस्थापनको लागु, मातृशिशु तथा बाल्यकालीन पोषण वृद्धि, अनुगमन तथा परामर्श, आमा तथा बालक स्वाथ्य स्याहार सम्बन्धी कार्यक्रम लगायत भएको जनाए ।

प्रकाशित मितिः   १२ आश्विन २०७५, शुक्रबार १५:२९