‘श्रमिकका अधिकार कुण्ठित भए’

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ असोज ।
वर्तमान सरकार श्रमिकहरूको हक र अधिकारलाई कुन्ठित गर्ने कार्यमा लागेको श्रमिकहरूले गुनासो गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको कार्य योजना तथा तर्जुमा कार्यक्रममा सहभागी श्रमिकहरूले यस्तो बताएका हुन् ।
उनीहरूले अहिलेको महंगी, कालोबजारी, भष्ट्राचार मौलाउँदै गएको भन्दै यसबाट सबैभन्दा धेरै श्रमिकहरू मारमा परेको बताएका छन् । श्रमिकहरूले प्रजातान्त्रिक आन्दोलनमा श्रमिकहरूको महŒवपूर्ण योग्दान रहेको स्मरण गर्दै कांग्रेसका नेताहरूबाटै अहिले आफूहरूलाई समस्या हुने गरेको बताएका छन् । उनीहरूले अब ट्रेड युनियनलाई स्थानीयतहमा विस्तार गरी बलियो संगठन निर्माण गर्न जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा नेपाल ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले सरकारले श्रमिकको हक अधिकारलाई कुण्ठित गर्ने कार्यमा अगाडि बढेको बताए । उनले सरकारले मजदुरको पक्षमा कुनै काम नगरेको आरोप लगाउदै त्यसकोविरुद्घ कांग्रेसले आवाज उठाउनुपर्ने बताए । उनले कांग्रेस गुट र उपगुटमा रुमलिंदा त्यसको प्रत्यक्ष मार आफूहरूले खेप्नु परेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले ट्रेड युनियन सक्रिय बनाउन सकेमात्र कांग्रेस बलियो हुने दाबी गरे । उनले अहिले ट्रेड युनियनलाई चुनौती थपिएको भन्दै जस्तो सुकै चुनौतीलाई सामना गर्न तयार रहन आग्रह गरे । उनले आगामी दिनमा कांग्रेस सच्चिएर अगाडि बढ्ने दावी गर्दै भातृ संगठनहरू जिम्मेवार भएर प्रस्तुत हुन् आग्रह गरे ।
नेपाली कांग्रेसका वीरेन्द्रनगर नगर सभापति देवकुमार सुबेदीले सरकारले मजदुरहरूलाई बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख समेत रहेका सुबेदीले आफूहरूले मजदुरको हक र अधिकारको लागि योजना बनाएर काम थाल्ने भन्दै आगामी आर्थिक वर्षमा बजेट छुट्याइने उल्लेख गरे । नेपाल ट्रेड युनियन कर्णालीका अध्यक्ष गोपालकृष्ण गिरीले कर्णाली प्रदेशमा ठूला आयोजनाहरू भए पनि स्थापना नगर्दा मजदुरहरू पलायन हुनुपर्ने बाध्यता रहेको बताए । उनले स्थानीय स्तरमा रहेका वित्तीय संस्थानले मजदुरहरूलाई ऋण दिन आलटाल गर्ने गरेको भन्दै यसले मजदुरहरूलाई झनै समस्या हुने गरेको बताए । कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका श्रमिकहरूको सहभागता रहेको थियो ।

प्रकाशित मितिः   १२ आश्विन २०७५, शुक्रबार १५:२४