प्रदेश परिषद् बैठकको तयारी

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ असोज ।
कर्णाली प्रदेश सरकारले प्रदेश समन्वय परिषद्को बैठकका लागि तयारी सुरु गरेको छ । परिषद्को पहिलो बैठकको तयारी तीव्र बनाइएको जनाइएको छ ।
गत भदौ ३० गते सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले असोज १९ र २० गते समन्वय परिषद्को बैठक आयोजना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय लगत्तै प्रमुख सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा विषयगत मन्त्रालयका सचिवहरूको बैठक बसेर परिषद् बैठकको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो । परिषद् बैठकका लागि सहभागीहरूको विवरण निश्चित गर्ने, बैठकका लागि लाग्ने खर्चको विवरण तयार गर्ने, बैठक सञ्चालन प्रक्रिया तथा व्यवस्थापन लगायतका विषयमा गृहकार्य सुरु गरिएको प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।
प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरूको उपयोग, विकास निर्माणका कार्यहरूमा सहकार्य लगायतका विषयमा साझा अवधारणा तयार गर्न कर्णाली प्रदेश समन्वय परिषद् बैठकको आयोजना गरिएको मुख्यमन्त्री एवम् परिषद्का संयोजक महेन्द्रबहादुर शाहीले बताए । ‘परिषद् बैठकमा सरकार सञ्चालनका क्रममा देखिएका कानुनी, आर्थिक, प्रशासनिक जटिलताको सम्बोधनका लागि पनि विचार विमर्श हुनेछ ।’ मुख्यमन्त्री शाहीले भने ।
परिषद् बैठकमा प्रदेश र स्थानीय तहका योजनाहरू बीचको अन्तरसम्बन्ध, प्रदेश र स्थानीय कर प्रणाली बीचको अन्तरसम्बन्ध, प्रादेशिक कानुन र स्थानीय तहका कानुनहरू बीचको अन्तरसम्बन्ध र प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनाहरूबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरूको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने बैठकबाट संघीयताको कार्यान्वयन, योजना निर्माण तथा कार्यान्वयन, कर सम्बन्धी विषय, कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धमा दुवै तहका नेतृत्वको बुझाइमा एकरूपता हुने, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यको भावना प्रवर्द्धन भई सेवा प्रवाह एवम् विकास कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ । पहिलो पटक आयोजना गरिएको समन्वय परिषद् बैठकमा कर्णाली प्रदेश सरकारका मन्त्री र सचिवहरू, विज्ञ, १० वटै जिल्लाका प्रमुख तथा उपप्रमुखहरू, ७९ वटा स्थानीय तहका प्रमुख उपप्रमुखहरूसहित तीन सय जना सहभागी रहने बताइएको छ ।

प्रकाशित मितिः   १० आश्विन २०७५, बुधबार १४:४६