कामदारले पाएनन् ज्याला
जगतदल जनाला बिक
सुर्खेत, ८ असोज ।
पश्चिम सुर्खेतको एक सरकारी भवन निर्माणमा संलग्न मजदुरहरूले ज्याला नपाएको गुनासो गरेका छन् । पञ्चपुरी नगरपालिकास्थित स्वास्थ्य इकाईको दुई कोठे भवन निर्माणको काम सकिए पनि उपभोक्ता समितिबाटै ज्याला पाउन नसकेको गुनासो मजदुरहरूले गरेका हुन् ।
नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा पञ्चपुरी–६ लाटिकाँडामा स्वास्थ्य इकाईको भवन निर्माणका लागि पाँच लाख विनियोजन गरेको थियो । जसमध्ये उपभोक्ता समितिमार्फत् काम गरेका पाँच जना कामदारले ज्याला पाउन सकेका छैनन् ।
गत वैशाख ७ गते ठेक्का लिएका मानसिंह बलामी, डिलबहादुर बलामी, यामबहादुर सिंजापती, यामबहादुर बलामी र खगेन्द्र बलामीले ज्याला नपाएको गुनासो गरेका हुन् । ३७ दिनमा भवनको काम सकेका उनीहरूले ४० हजार रूपैयाँ मात्रै ज्याला पाएका छन् । एक लाख ४० हजार रूपैयाँमा उपभोक्ता समितिमार्फत् ठेक्का लिएका उनीहरूले काम सम्पन्न भएको ६ महिनासम्म पनि ज्याला पाउन नसकेको बताएका छन् । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्रप्रसाद कँडेलले पटक–पटक ज्याला माग्दा आलटाल गर्ने गरेको मानसिंह बलामीले बताए ।
‘काम सकिएको ६ महिना बितिसक्यो । पैसा माग्दा पनि भोलि दिन्छु भनेर उपभोक्ता समितिकै अध्यक्षबाट ठगिनुप¥यो’ उनले भने, ‘हामीले पूरा ज्याला पाउन सकेका छैनौं ।’ पाँच जनाले ४० हजार जति लिएको उनले बताए । सम्झौता अनुसार समितिबाट एक लाख रूपैयाँ लिन बाँकी छ । भवन निर्माण सम्पन्न भएसँगै नगरपालिकाबाट अध्यक्ष कँडेलले भुक्तानी निकासा गरिसकेका छन् । भवन निर्माणको पैसा व्यक्तिगत काममा खर्च गरेपछि आइतवारदेखि अध्यक्ष कँडेल सम्पर्कविहीन भएको उनले जानकारी दिए ।
‘गाउँ घर र छिमेकीको कुरा भनेर ६ महिनासम्म ज्याला माग्दा कडा रूपमा प्रस्तुत हुन सकिएन्’ उनले भने, ‘अब कानुन अनुसार अगाडि बढ्छौं ।’ पञ्चपुरी नगरपालिका–६ का वडाअध्यक्ष खड्क थापाले भवन निर्माणको काम सम्पन्न भएसँगै रकम निकासा गर्दा समितिका अन्य पदाधिकारी सचेत नहुँदा समस्या भएको बताए ।
साझा बिसौनी ।