सुर्खेत–कोरिया सम्पर्क समितिमा गुरुङ्ग

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ असोज ।
कोरियामा रहेका सुर्खेती युवाहरू संगठित भएर गठन गरेको सुर्खेत–कोरिया सम्पर्क समितिको अध्यक्षमा तुलस गुरुङ्ग चयन भएका छन् । समितिको छैठौं अधिवेशनबाट गुरुङ्ग सर्वसम्मत् रूपमा अध्यक्षमा चयन भएका हुन् ।


यसैगरी समितिका उपाध्यक्षमा भीम थापा र ललित पौडेल, सचिवमा सर्जन रावत, सह–सचिवमा दुर्गाप्रसाद ढकाल, कोषाध्यक्षमा वीरेन्द्र बिसी र सह–कोषाध्यक्षमा प्रेमकुमार देवकोटा चयन भएका छन् । सदस्यहरूमा चन्द्रप्रकाश कँडेल, दिपेश खड्का, पुष्कर बुढाथोकी, कृष्ण क्षेत्री, दामोदर कँडेल र टेकराज बिसी चयन भएका छन् । पूर्व उपाध्यक्ष गोपाल न्यौपानेको सभापतित्वमा अधिवेशन भएको थियो ।
यसैबीच नयाँ कार्य समितिले अक्षयकोष स्थापना गरी रकम संकलनसमेत सुरु गरेको छ । अक्षयकोषमा जम्मा भएको रकमले कोरियामा विविध समस्यामा परेका सुर्खेती युवाहरूलाई सहयोग लगायत कामहरू गरिने समितिका अध्यक्ष गुरुङ्गले बताए । त्यसैगरी समितिले आगामी सलनाल (कोरियन नयाँ वर्ष) मा सांगीतिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । साथै उक्त समितिका पूर्व अध्यक्ष लक्ष्मीनारायण बस्नेतले नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेका छन् ।