एकताबद्ध भएर जान सुझाव

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ असोज ।
नेपाली कांग्रेस नेतृ चित्रलेखा यादवले सबै नेता तथा कार्यक्रम एकताबद्ध भएर अघि बढेमा मात्र पार्टीलाई बलियो हुने बताएकी छिन् । नेपाली कांग्रेसको विधान संशोधनका लागि सुझाव संकलनका लागि सोमवार वीरेन्द्रनगरमा भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कांग्रेस नेतृ यादवले पार्टी बलियो बनाउन सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिएकी हुन् ।
कांग्रेस नेतृ यादवले पार्टी तयार गरेको मस्यौदा समितिमाथि विभिन्न समूह बनाएर व्यापक छलफल गरी सुझाव संकलन गरिने बताइन् । सातै प्रदेशबाट मस्यौदामाथि आएका सुझाव संकलन गरिने र दशैं तिहारको बीचमा केन्द्रीय समिति बैठकमा प्रस्ताव गरी मंसिरमा हुने महासमिति भेलामा लैजाने उनले बताइन् । नेतृ यादवले अब बन्ने कांग्रेसको विधान सबैभन्दा लोकतान्त्रिक, समावेशी हुने दाबी गरिन् ।
विधान समितिकासदस्य प्रदीप पौडेलले सबै तहमा एक तिहाइ महिला सहभागिता हुने, केन्द्रीय सदस्य र पदाधिकारीको आकार बढ्ने, प्रदेश समितिहरू पनि अधिकार सम्पन्न बन्ने जिकिर गरे । अहिले पनि अन्य दलको भन्दा कांग्रेसको विधान लोकतान्त्रिक भएको र नयाँ बन्ने विधान पनि थप लोकतान्त्रिक हुने उनको भनाइ छ । उनका अनुसार नयाँ संघीय संरचनामा जाँदा केन्द्रदेखि प्रादेशिक, जिल्ला, क्षेत्र र स्थानीय तह सम्मको आकारसमेत तय गरिनेछ ।
समानुपातिक क्लस्टरका आधारमा संख्या थपघट हुने र जनसंख्याका आधारमा संख्या तय गरिने हुँदा सबै प्रदेश समितिहरू फरक–फरक आकारमा रहने उनले बताए । जसअनुसार प्रदेश समिति बढीमा ९० सदस्यीय र घटीमा ३५ सदस्यीय हुन सक्ने सम्भावना छ । समितिले शीर्ष नेताहरूको सुझाव र सातै प्रदेशमा हुने भेलाबाट आउने सुझावका आधारमा अन्तिम मस्यौदा तयार गर्नेछ । समितिले १५ असोजसम्ममा अन्तिम मस्यौदा तयार पारिसक्ने जनाइएको छ ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले अहिले पनि अन्य दलको भन्दा कांग्रेसको विधान लोकतान्त्रिक भएको र नयाँ बन्ने विधान पनि थप लोकतान्त्रिक हुने उनको भनाइ छ । उनले कार्यक्रमको समापनमा यहाँबाट दिइएका सुझावहरू सार्वजनिक गरिने बताए ।

प्रकाशित मितिः   ९ आश्विन २०७५, मंगलवार १५:५६