मन्दिर बनाउनै साढे आठ करोड

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ असोज ।

केबुलकार सञ्चालनदेखि सुरुङ्गमार्ग निर्माणसम्मका सपनासहित आफ्नो नीति तथा कार्यक्रम ल्याएको कर्णाली प्रदेश सरकारले यो वर्षको बजेट कार्यान्वयनका लागि छनौट गरेका योजना जो–कोहीलाई अचम्मित तुल्याउने खालका छन् । स्थानीय तह अन्तर्गतका वडाले समेत प्राथमिकता नदिएका योजनामा प्रदेश सरकारले ठूलो रकम खर्चिने गरी बजेट बाँडफाँड गरेको छ । कतिसम्म भने कुनै एक देउताको थान निर्माणका लागि भनेर १५ लाख रूपैयाँ छुट्याइएको छ ।


कर्णाली प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७५/०७६ मा खर्च गर्ने बजेटमध्ये आठ करोड ५४ लाख ५० हजार रूपैयाँ देउताका थान, मन्दिर र गुम्बा निर्माणमा खर्च हुने भएको छ । प्रदेशका विभिन्न जिल्लाहरूमा देउताका थान, मन्दिर, चर्च, गुम्बा र मस्जिद निर्माणका लागि मन्त्रालयले उक्त बजेट विनियोजन गरेका हुन् ।

प्रदेशका ऐतिहासिक सम्पदाहरूको संरक्षणद्वारा पर्यटन प्रवद्र्धन गर्ने भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पाँच दर्जनभन्दा बढी थान, मन्दिर र गुम्बा निर्माणका लागि बजेट छुट्याएको छ । जसमा २९ वटा नयाँ योजना छन् भने गत वर्ष पहिचान गरिएका ३५ वटा योजना रहेका छन् । यस वर्ष थप गरिएका २९ वटा मन्दिर र गुम्बा निर्माणका लागि मन्त्रालयले तीन करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । यसमा एउटा मन्दिर निर्माणका लागि न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाख रूपैयाँसम्म छुट्याइएको छ ।

मन्त्रालयले मन्दिर र गुम्बा निर्माणका लागि भनेर सबैभन्दा बढी बजेट सुर्खेतमा छुट्याएको छ । सुर्खेतका देउतीबज्यै मन्दिर, शिव मन्दिर, रामजानकी मन्दिर, ठिन्ले ताकतेन लिङ गुम्बा, पेङबायाङदेलछुङदेल गुम्बा लगायत निर्माणका लागि ६५ लाख रूपैयाँ मन्त्रालयले छट्याएको छ ।

यस्तै डोल्पाका लागि ६० लाख छुट्याइएको छ जसबाट गणेश र सरस्वती मन्दिर, सांचेन गुम्बा, ध्यांगगोनथ्यांगडोन गुम्बा, मण्टा भवानी मन्दिर लगायत निर्माण गरिने छ ।

त्यसैगरी जुम्लामा बुडाल मण्टा थान, चन्दननाथ मन्दिर, खुमालगाउँ कुलालबाडा मन्दिर, कैलाश मन्दिर, बाविरोधान मन्दिर, वण्डाली मन्दिर लगायत निर्माण गर्न ५० लाख रूपैयाँ खर्च गरिने भएको छ ।

जाजरकोटमा सुयाडा सिडी मन्दिर निर्माण गर्न १५ लाख, रुकुममा डिग्री साइ मन्दिर निर्माण गर्न १५ लाख, मुगुमा साग्मो गुम्बा, शिवालय मन्दिर, नाचिंग तिर्थ गुम्बा लगायतका लागि ३५ लाख, दैलेखमा वण्डाली मन्दिर, विन्ध्याबासिनी मन्दिर, कालिका मन्दिर, मस्जिद दर्गा लगायतका लागि ५० लाख, हुम्लामा धिगा गुम्बा, ताङ्गिन गुम्बा, गुरामण्टा डाँडामाडु मन्दिर लगायतका लागि ३० लाख र सल्यानमा शिव गुफा सिढी निर्माण गर्न २० लाख विनियोजन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसबाहेक गत आर्थिक वर्ष २०७४/०७५ मा पहिचान गरिएका ३५ वटा मन्दिर गुम्बाहरूका लागि भनेर दुई करोड ९५ लाख रूपैयाँ विनियोजन गरेको छ । जसमा न्यूनतम दुई लाख ५० हजारदेखि अधिकतम १० लाखसम्म छ ।

अर्कोतर्फ सामाजिक विकास मन्त्रालयले समेत मन्दिर र चर्च निर्माणका लागि ठूलो बजेट खर्चिने भएको छ । पुरातात्विक ऐतिहासिक धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनका लागि भन्दै मन्त्रालयले तीन करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ । बाँफिकोटकाँडामा रहेको बुरालबाबा मन्दिर स्तरोन्नतिका लागि १० लाख छुट्याएको छ भने बराहताल–५ सुर्खेतमा बोधीज्ञान तपोभूमि बुद्धविहारको आराधाना भवन निर्माण गर्न २० लाख छुट्याइएको छ । यसबाहेक विभिन्न जिल्लाका ५३ वटा मन्दिरका लागि समान पाँच/पाँच लाखको दरले बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले कालिकोटको डाँडासिमनाथ मन्दिर निर्माण गर्न १० लाख छुट्याएको छ ।

नागरिकहरुको मागका आधारमा मन्दिर र थानहरुका लागि बजेट छुट्याइएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले बताए । उनले जनताको आवश्यकतालाई सम्बोधन गर्दा त्यस्ता क्षेत्रहरुमा पनि रकम विनियोजन गर्नुपर्ने जनाए । साथै मन्त्री बुढाले सामाजिक सदभाव कायम गर्दै पर्यटन प्रवर्दनमा योगदान पुर्याउने अपरिहार्य रहको जिकिर गरे ।

प्रकाशित मितिः   ७ आश्विन २०७५, आईतवार १५:१४