बड्डिचौरमा सरसफाइ अभियान

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ असोज ।
बराहताल गाउँपालिकाको बड्डिचौर बजार सरसफाइ गरिएको छ । साहारा युवा क्लबको अगुवाइमा भइरहेको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत शनिवार बराहताल गाउँपालिका–५ बड्डिचौर बजारमा सरसफाइ गरिएको हो ।
साहारा युवा क्लबको आयोजनामा विगत केही सातायता साप्ताहिक रूपमा नियमित सरसफाइ हुँदै आएको छ । शनिवार पनि क्लबको अगुवाइमा बड्डिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समूह र देउती नागरिक यातायात समिति बड्डिचौर बुकिङ्ग काउण्टरको सहयोगमा सरसफाइ गरिएको जनाइएको छ ।
सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले समुदायको सरसफाइमा समुदायका युवाहरू नै जागरुक हुनु उदाहरणीय कार्य भएको बताइन् । कुनाथरी गाविसका पूर्व अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता ताराकेशर गौतमले बड्डिचौरका युवाहरूले गरेको कार्य उदाहरणीय भएको टिप्पणी गरे ।
बड्डिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष अर्जुन बुचाले समुदायकै अगुवाइमा हुने अभियान सफल हुने भन्दै युवाहरूले थालेको सरसफाइ अभियानमा खानेपानी सरसफाइ उपभोक्ता समूहको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । साहारा युवा क्लबका अध्यक्ष उमेश गौतमले समाजको हितमा आफूहरू सधैं काम गर्ने बताए । सरसफाइका क्रममा संकलित फोहोर व्यवस्थापनका लागि क्लबका अध्यक्ष उमेश गौतम र उपाध्यक्ष ज्ञानु मर्साङ्गीले गाडी उपलब्ध गराएको क्लबका सचिव दिपेन्द्र मर्साङ्गीले जानकारी दिए ।

प्रकाशित मितिः   ७ आश्विन २०७५, आईतवार १५:१०