भरतको ‘छायाँ’ विमोचन
साझा बिसौनी संवाददाता
सुर्खेत, ६ असोज ।
उपन्यासकार भरत सुवेदीको पहिलो उपन्यास ‘छायाँ’ विमोचन गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका डीन एवम् साहित्यकार प्रा. खोपीराम लम्सालले शनिवार वीरेन्द्रनगरमा उपन्यासको विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै टेकनारायण लम्सालले उपन्यासले समाजका विविध घटनाक्रमहरूलाई मर्मस्पर्शी ढङ्गबाट देखाएको बताए । मानवजीवनका अनेक घटनाहरूलाई कथा बनाइएको उपन्यास छायाँ आकर्षक भाषाशैलीमा लेखिएकाले पनि पढ्नैपर्ने पुस्तक बनेको उनको टिप्पणी थियो ।
लेखक सुवेदीले आफूले देखेको र समाजका हजारौं मानिसहरूले भोगिरहेका कथाहरूलाई समेटेर उपन्यास तयार पारेको बताए । दैलेख र सुर्खेतको परिवेशमा लेखिएको पुस्तकभित्र समाजका समस्या, विकृति र विसंगतिहरू समेटिएको उनले जनाए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् साहित्यकार खोपीराम लम्सालले हरेक पुस्तकले समाज परिवर्तनमा योगदान पु¥याउनुपर्ने धारणा राखे । पुस्तकमार्फत् उठाइएको कथावस्तुले समाज रूपान्तरण गर्न सक्नुपर्ने धारणा राख्दै उनले छायाँका लेखक सुवेदीलाई शुभकामना व्यक्त गरे ।
शब्दार्थ प्रकाशनले बजारमा ल्याएको उक्त उपन्यास दुई सय १६ पृष्ठको छ । जसको मूल्य चार सय रूपैयाँ तोकिएको छ । मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजना भएको पुस्तक विमोचन तथा रचना कार्यक्रम कार्यक्रममा दैलेख, सुर्खेत, जाजरकोट, अछाम, बाँके, बर्दिया, सल्यान, दाङ लगायतका स्रष्टाहरूले आफ्ना रचना वाचनसमेत गरेका थिए ।
मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ को सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण मञ्चका महासचिव पहल असिम थापाले गरेका थिए ।
साझा बिसौनी संवाददाता ।