तीन कक्षा, दुई विद्यार्थी, दुई शिक्षक

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ असोज ।
विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको छ । परीक्षाको दिन विद्यार्थीको उपस्थिति अन्य समयमा भन्दा बढी हुनुपर्ने हो । तर विद्यालय सुनसान छ, शान्त छ । परीक्षा सञ्चालन भइरहेका कारण विद्यालयको वातावरण शान्त र सुनसान भएको भने होइन, विद्यार्थी नै नभएकाले शान्त भएको हो ।
झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो । नेपाल शिक्षक महासंघ गुर्भाकोट नगर कार्यसमितिका सचिव इन्द्रबहादुर थापाले बिहीवार यही दृश्य आफैले देखे । उनी गुर्भाकोट नगरपालिकाकै वडा नं. १४ घोयलपानीस्थित पर्वत प्राथमिक विद्यालयमा पुग्दा प्रथम त्रैमासिक परीक्षा चलिरहेको थियो । नगर शिक्षा शाखाको अनुगमन तथा निरीक्षण समितिको सदस्यका रूपमा त्यहाँ पुगेका थापा त्यतिबेला छक्क परे जब त्रैमासिक परीक्षा चलिरहेको विद्यालयमा जम्मा दुई जना विद्यार्थी मात्रै उपस्थित थिए । दुई जना शिक्षक तिनै दुई जना विद्यार्थीको परीक्षा लिइरहेका थिए ।
कक्षा तीनसम्म पढाइ हुँदै आएको उक्त विद्यालयमा यसवर्ष ६ जना विद्यार्थी मात्रै भर्ना भएका थिए । जसमध्ये अहिले दुई जना विद्यार्थी नियमित विद्यालय आउँछन् । उनीहरूलाई पढाउन दुई जना शिक्षक खटिएका छन् ।
करिब तीन दशकदेखि नियमित सञ्चालन भइरहेको विद्यालय यतिबेला सुनसान देखिन्छ । पछिल्ला केही वर्षदेखि लगातार विद्यार्थी संख्या घट्दै आएको थियो । यसवर्ष उक्त संख्या अनपेक्षित रूपमा घटेको शिक्षकहरू बताउँछन् ।
गुर्भाकोटकै विकट मानिने घोयलपानीमा बस्ती नै सानो छ । विद्यालय आसपासमा अहिले नौ वटा घर मात्रै छन् । बस्ती नै सानो भएपछि जनसंख्या पनि अत्यन्तै न्यून छ । जसले गर्दा विद्यालयमा विद्यार्थी संख्या पनि अति न्यून छ । कक्षा तीनसम्म पढाइ हुने विद्यालयको एउटा कक्षामा विद्यार्थी नै छैनन् । कक्षा एकमा एक जना र कक्षा तीनमा एक जना गरी दुई जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा दुईमा विद्यार्थी नै छैनन् । दुई जना शिक्षक यतिबेला तिनै दुई जना विद्यार्थी पढाएर बसिरहेका छन् ।
विद्यालय भर्ना भएका ६ जनामध्ये केहीले विद्यालय छोडेर अन्यत्र गएको र केही आफ्ना अभिभावकसँगै भारततिर गएको विद्यालयका प्रधानाध्यापक तप्तबहादुर शाहीले बताए । बढ्दो बसाइँसराइसँगै बस्ती नै पातलिदैं गएको भन्दै उनले यसको असर विद्यालयमा परेको जनाए ।
गुर्भाकोटकै वडा नं. १० हनिमानमा रहेको नेपाल राष्ट्रिय प्राथमिक
विद्यालयमा पनि विद्यार्थी घट्दै गइरहेका छन् । कक्षा १ देखि पाँचसम्म पढाइ हुने उक्त विद्यालयमा यो वर्ष २५ जना विद्यार्थी भर्ना भएका थिए । तर भर्ना भएका सबै विद्यार्थी अहिले विद्यालय आउँदैनन् । १०÷१२ जना विद्यार्थी मात्रै नियमित विद्यालय आउने गरेका छन् । उक्त विद्यालयमा तीन जना शिक्षक कार्यरत छन् ।
गुर्भाकोटका यी दुई विद्यालय मात्र होइन पछिल्ला वर्षहरूमा सुर्खेतको विकट ग्रामीण भेगका सामुदायिक विद्यालयहरूमा विद्यार्थी रित्तिदै गएका छन् । कतिपय विद्यालयमा शिक्षक भएर पनि विद्यार्थी छैनन् भने केही विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक कम छन् । गुर्भाकोट नगरपालिकाकै १५ वटा विद्यालयमा यस्तो समस्या रहेको गुर्भाकोट नगर शिक्षा शाखाका प्रमुख सुरेन्द्र रावत बताउँछन् । समस्या देखिएका विद्यालयहरूको वास्तविक अवस्था अध्ययनको लागि नगरपालिकाले अनुगमन समिति बनाएर स्थलगत अध्ययन गरेको छ । अनुगमन समितिहरूको प्रतिवेदनका आधारमा थप छलफल गरी समस्या समाधानका लागि पहल गरिने उनले बताए । शिक्षक दरबन्दी मिलान गर्नेदेखि विद्यालय गाभ्नेसम्मका योजना नगरपालिकाले बनाएको छ । यसका लागि आवश्यक ऐन, नियम र कार्यविधि पनि बनाइसकिएको रावतले जानकारी दिए ।

प्रकाशित मितिः   ६ आश्विन २०७५, शनिबार १६:३७