कर्णाली इञ्चार्जमा शर्मा, अध्यक्षमा बोगटी

सचिव शर्माद्वारा पद अस्वीकार

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ असोज ।
नेपाल कम्युनिष्ट पार्टी
(नेकपा) को कर्णाली प्रदेश इञ्चार्जमा नेता जनार्दन शर्मा चयन भएका छन् । शुक्रवार बसेको नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँड गरेको हो । जस अनुसार प्रदेश सह–इञ्चार्जमा यामलाल कँडेल रहेका छन् ।
त्यसैगरी प्रदेश कमिटीको अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा चयन भएका छन् । इञ्चार्ज र सचिव पूर्व नेकपा (माओवादी)को भागमा पर्दा सह–इन्चार्ज र अध्यक्ष पूर्व नेकपा एमालेको भाग परेको जनाइएको छ ।
यसैबीच नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेश सचिवको जिम्मेवारी अस्वीकार गरेका छन् । पार्टी नेतृत्वले योगदानको कदर नगरेको भन्दै शर्माले शुक्रवार नेकपा सचिवालयले तोकेको जिम्मेवारी अस्वीकार गरेका हुन् । प्रदेश अध्यक्षको आकांक्षा राखेका शर्माले सचिवको जिम्मेवारी पाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् नेकपा कर्णाली प्रदेश सचिवको जिम्मेवारीमा नरहेको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु ।’
उनले योगदानका आधारमा जिम्मेवारी नदिएको जिकिर गरे । ‘मलाई प्रदेशको जिम्मेवारी उपयुक्त नलागेकाले सचिवालयको जिम्मेवारी स्वीकार गर्न सकिन्’ शर्माले भने, ‘तत्कालीन पार्टीसँग कुरा गर्दा हिजो काम गरेका मान्छे भन्दा योगदान नगरेका मान्छेलाई जिम्मेवारी तोकियो ।’ सचिवको जिम्मेवारीमा नरहे पनि उनले आगामी दिनमा पार्टीको हितका लागि काम गर्ने बताए । ‘सचिव पाएमात्रै काम गर्ने, नत्र नगर्ने भन्ने हुँदैन । देश परिवर्तनका निमित्त अरुले पसिना बगाएको भन्दा मेरो रगत बढी बगेको छ’ उनले साझा बिसौनीसँगको फोन संवादमा भने, ‘रगतको मूल्य पूरा नहुञ्जेलसम्म पार्टीभित्रै संघर्ष गर्छु । जनतामाझ जान्छु, कार्यकर्ता माझ जान्छु ।’
पार्टी समायोजनका क्रममा नेकपाले बनाएको नीतिप्रति पनि उनले असन्तुष्टी व्यक्त गरे । ‘कार्यकारी पदमा रहेका व्यक्तिले पार्टीभित्र जिम्मेवारी नलिने नीति बनाइएको छ । तत्कालीन पार्टीका संयोजकहरूमध्ये संयोजक तोकिनुपथ्र्याे’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाका माननीयहरू इञ्चार्ज, सह–इन्चार्ज हुने । खाली रहेका योग्य मान्छेहरू हट्ने । हिजो बलिदानी, योगदान गरेका मान्छेहरू बाहिर राख्ने काम मलाई मान्य छैन ।’
प्रदेश नं. १ को इञ्चार्जमा भीम आचार्य, सह–इञ्चार्जमा सावित्रीकुमारी काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन् । त्यसैगरी प्रदेश नं. २ को इञ्चार्जमा सत्यनारायण मण्डल र सह–इञ्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल चयन भए । प्रदेश नं. ३ को इञ्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र सह–इञ्चार्जको नारायण दाहालले पाएका छन् भने प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल चयन भए ।
त्यस्तै गण्डकी प्रदेशको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ र सह–इञ्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली चयन भए । प्रदेश नं. ५ को इञ्चार्जको जिम्मा शंकर पोखरेलले र सह–इञ्चार्जमा दलबहादुर रानाले पाएका छन् भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा नियुक्त भए ।
प्रदेश नं. ७ को इञ्चार्जमा भीमबहादुर रावल र सह–इञ्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाएका छन् । गत जेठ ३ गते साविकको एमाले र माओवादी केन्द्र एकतापछिको यो निर्णयलाई महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । देशका ७७ जिल्ला र जनवर्गीय संगठनको एकता सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।

प्रकाशित मितिः   ६ आश्विन २०७५, शनिबार १६:३१