कांग्रेस सचिवसहित नौ जना पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ असोज ।
पञ्चपुरी नगरपालिकाको पलैंटेबाट जुवा खेलिरहेको अवस्थामा नेपाली कांग्रेस सुर्खेतका जिल्ला सचिवसहित नौं जना पक्राउ परेका छन् । जुवा खेलिरहेको सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पलैंटेबाट बिहीवार राती नौ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा टोपबहादुर रावत, जयलाल पुरी, नेघबहादुर बुढाथोकी, गगनबहादुर गुरुङ्ग, जगत मर्साङ्गी, इन्द्रवजीत थापा, टोपबहादुर बुढाक्षेत्री, अम्मर भण्डारी र मोहन बाँडा रहेका छन् । पक्राउ पर्नेमध्ये रावत नेपाली कांग्रेस सुर्खेतको जिल्ला सचिव हुन् । उनीहरूबाट नगद २६ हजार ५५ रूपैयाँसहित जुवा खेल्न प्रयोग हुने सामग्रीहरू बरामद गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गरिएको छ । यसअघि प्रहरीले वीरेन्द्रनगरस्थित मंगलगढीचौकको एक होटेलबाट ६ जनालाई पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता श्यामसिंह चौधरीका अनुसार भदौ २८ गते राती साढे १० बजे जुवा खेलिरहेको अवस्थामा चेतन खड्का, प्रेमबहादुर शाही, बलबहादुर राना, हिक्मत बिसी, कमल रोकाया, कालिराम चौधरी पक्राउ परेका थिए । चार्डपर्व नजिकिएसँगै जुवातास खेल्ने प्रवृत्ति बढ्ने भएकाले प्रहरीले विशेष रणनीति अपनाएको प्रवक्ता चौधरीले बताए । सभ्य, भव्य र शान्तिपूर्वक चाडपर्व मनाउने गरी शान्ति सुरक्षा प्रदान गरिने उनले जानकारी दिए ।