जनसेवा बन्यो ‘स्मार्ट स्कुल’

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ असोज ।
जनसेवा माध्यमिक विद्यालय घुस्रालाई स्मार्ट स्कुल घोषणा गरिएको छ । आवश्यक सूचकहरू पूरा गरेपछि शुक्रवार विद्यालयलाई स्मार्ट घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा विभिन्न क्रियाकलापसहित स्वच्छता सम्बन्धी सात वटा झण्डा झण्डोत्तोलन गरिएको थियो । विद्यालयमा सफा शौचालयको प्रयोग, शुद्ध पिउने पानीको प्रयोग, स्वच्छ वातावरण, महिनावारी भएका छात्राहरूका लागि स्वच्छता, स्वस्थ खाना र हातधुने तरिका गरी ६ सूचक पूरा गरेपछि स्मार्ट विद्यालय घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर शाहीले जानकारी दिए । स्मार्ट स्कुल कार्यक्रम सुन्दर नेपाल संस्थाको
अगुवाइमा गरिएको हो । सोही कार्यक्रममा विभिन्न अक्षयकोषहरूको स्थापनासमेत गरिएको छ । एक÷एक लाख रूपैयाँका प्रेम–नैना अक्षयकोष, अल्फा ब्रदर्श र राम–लक्ष्मी शाही अक्षयकोषका साथै प्रेम बिसीले आफ्नो बुबाआमा र ससुराको नाममा एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । यस्तै देउतीबज्यै सामुदायिक वनले पनि विद्यालयमा एक लाख एक हजार एक सय २५ रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको जनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल शर्माको अध्यक्षता तथा कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य पद्मा खड्का, वडा अध्यक्ष रत्नबहादुर बुढा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ६ आश्विन २०७५, शनिबार १६:३०