बोक्सीको आरोपमा कुटपिट

साझा बिसौनी संवाददाता
कालिकोट, ४ असोज ।
बोक्सीको आरोपमा कालिकोटमा एक युवती आफ्नै घरका सदस्यहरूबाट कुटिएकी छिन् । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–५ मटेलाकी १९ वर्षीया सरिता दमाईलाई उनका आफन्तले नै बोक्सीको आरोपमा कुटपिट गरेका हुन् ।
पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । जसमा सरिताकै श्रीमान् अली दमाई, ससुरा बिजे दमाई, देवर ऐन दमाई र जेठाजु पिरम दमाई रहेका छन् ।
सरिताले श्रीमान्सहित चार जनाले बोक्सीको आरोपमा आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले आफूलाई बोक्सीको आरोपमा दैनिक कुटपिट गर्ने गरेको सरिताले बताएकी छिन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्माका अनुसार अनुसार पक्राउ गरिएका चारैजना विरुद्ध भेद्भाव तथा अन्य अपमानजन्य कसूर (बोक्सीको आरोप) अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी निरोज चौलागाईले पीडित सरिताको जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य जाँच गर्दा जिउँभरी निलडाम भेटिएको बताए । उनले परिवारले कुटपिट गर्दा च्यातिएका कपडा पनि फेला परेको जानकारी दिए ।
न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आएकी पीडित सरिता दमाईले विवाह भएको दुई वर्षसम्म पनि सन्तान नजन्मिदा आफूलाई परिवारले बोक्सीको आरोप लगाएर कुटपिट गरेको बताइन् । उनले भनिन्, ‘देवरले धामी कामेर बोक्सी भन्छन् । श्रीमान्, ससुरा, जेठाजु सबैले कुटपिट गर्छन् । घरमा सास्ती खप्न नसकेर माइत आएँ । अहिले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय आएकी हुँ । अब म त्यो घर फर्किन्न ।’