यातायात हड्तालले सास्ती

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ असोज ।
सार्वजनिक यातायात मजदुरहरूको आव्हानमा भएको हड्तालले यात्रुहरूले सास्ती पाएका छन् । चाडवाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरू मर्कामा परेका छन् ।
नयाँ मुलुकी संहितामा सजायको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरू हड्तालमा उत्रिएका हुन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिक रूपमा कसैले पनि लिएको छैन । बिहीवार सुर्खेतसहित कर्णाली प्रदेशका जिल्लाहरूमा पनि हड्तालको प्रभाव रह्यो । लामो तथा छोटो दूरीका ठूला सवारी साधन ठप्प भए भने छिटफुट रूपमा साना सवारी साधन सञ्चालन भएका थिए । गाडी नपाउँदा यात्रुहरू बसपार्कमा अलपत्र परेका थिए । सवारी साधन बन्दको आव्हान गरिए पनि सडकमा भने बन्दकर्ता थिएनन् । हल्लाकै भरमा परेको बन्दको प्रभावमा यात्रुहरू परे ।
मंगलवारदेखि नै लामो दूरीमा चल्ने गाडी ठप्प जस्तै बनाइएको छ । दशैं नजिकिँदै गर्दा हल्लैहल्लाको बन्दले यात्रुहरूलाई भने मर्का पारेको छ । प्रहरी प्रशासनले यातायात सेवा सुचारु गर्न पहल गर्ने क्रममा बिहीवार बिहान सुर्खेत बसपार्कमा बन्द गर्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । जबरजस्ती बन्द गर्ने जो कोहीलाई पक्राउ गरी कारबाही गरिने जिल्ला प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेले बताए । यातायात व्यवसायीले आवश्यक ठाने प्रहरीले गाडी स्कटिङ्ग गरेर पनि गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने उनले बताए ।

प्रकाशित मितिः   ५ आश्विन २०७५, शुक्रबार १४:२६