जंगल त्याग्दै राउटे
सुर्खेत, ४ असोज ।
घना जंगल, छेउमा बस्ती । चर्काे घाम छल्ने टहरा, आधा शरीर ढाक्ने एकसरो कपडा । ननुहाउँदा फोहरी जीऊ, फुटेका खुट्टा । नवजात शिशुका लागि घाँसको ओछ्यान, बेवारिसे सुत्केरी महिला । यो दृष्य देख्दा दैलेखको भगवतिमाइ गाउँपालिकाकी सत्यदेवी अधिकारीले मन थाम्नै सकिनन् र सहयोगका लागि अघि सरिन् । सुत्केरीलाई सहयोग त परै जावस् उनले बस्तीमा प्रवेशसमेत पाइनन् ।
सहयोग गर्न अघि सर्दा सत्यदेवी बस्तीमा प्रवेश गर्नसमेत नपाएको घटना वि.सं. २०६३ सालको हो । जतिबेला उनलाई राउटे समुदायको संस्कार र संस्कृतिका बारेमा थाहा नै थिएन । उक्त घटनापछि मात्रै उनले थाहा पाइन्, राउटे बस्तीको एक सय मिटर वरपर कसैले जान पाउँदैनथिए । भन्छिन्, ‘सुत्केरीले धेरै दुःख पाएको देखेपछि मानवताको नाताले पनि सहयोग गर्न मन लाग्यो । तर, नजिक जानै पाइएन । त्यसपछि राउटेको सहयोग गर्ने अठोट नै गरें ।’ एक दशकअघि राउटे समुदायकी सुत्केरी महिलालाई सहयोग गर्न अघि सर्दा बस्ती प्रवेशसमेत नपाएकी सत्यदेवी यतिबेला सोही समुदायकी ‘प्यारी भान्जी’ बनिसकेकी छिन् । राउटे समुदायमा आएको परिवर्तनको एउटा उदाहरण र साक्षी उनी स्वयम् हुन् ।
सत्यदेवी मात्रै होइनन्, आफूलाई जंगलको राजा मान्ने राउटे समुदायको बस्तीमा केही वर्षअघिसम्म सहजैे प्रवेश कसैले पनि पाउँदैनथे । उनीहरूको आफ्नै संस्कार हुन्थ्यो, आफ्नै जीवनशैली । जंगलबाट काठका सामग्री बनाउने, बाँदर मार्ने, कन्दमुल खोज्ने र जीविकोपार्जन गर्थे । वर्षमा दुई पटक मात्रै नुहाउने र पैसा छोए पाप लाग्छ भन्ने मान्यता थियो । निकै कठोर स्वभाव देखाउने राउटे समुदाय अहिले भने बदलिइसकेको छ । उनीहरू पछिल्ला केही वर्षदेखि समुदायमा भिज्न थालेका छन् । सत्यदेवी भन्छिन्, ‘पहिले धेरै गाह्रो थियो । अहिले राउटे आधुनिक बन्दै गएका छन् । धेरै परिवर्तन भइसकेका छन् ।’
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायसँग सुरुवातमा उनलाई घुलमिल हुन निकै गाह्रो प¥यो । आफन्त र नाताभित्रै विश्वास गर्ने यो समुदायमा सत्यदेवीले ‘भान्जी’ नाता जोडिन् । त्यसयता उनी राउटेहरूसँग निकट रहेर उनीहरूको सामाजिकीकरणका लागि काम गरिरहेकी छिन् । राउटे समुदायमा चेतनाको स्तर वृद्धि भएसँगै अहिले जो कोहीले पनि बस्तीमा जान पाउँछन् । उनीहरू अन्य समाजमा घुलमिल हुन थालेका छन् । दक्षिण एशियाकै लोपोन्मुख राउटे समुदाय बदलिदै गएको अधिकारी बताउँछिन् ।
पछिल्लो समय राउटेहरू जंगलबाट विस्तारै बस्तीको नजिक सर्न थालेका छन् । मेला–महोत्सवदेखि सहरबजारसम्म धाउन थालेका छन् । दैलेखको गुराँस गाउँपालिका–८ झ्याजेबाट तेस्रो संविधान दिवसमा सहभागी हुन बुधवार वीरेन्द्रनगर पुगेका उनीहरूले उभिएर मौन धारण गरे । जबकी उनीहरूको संस्कार अनुसार स्वर्गारोहण भएको व्यक्तिको सम्झना गर्दा बसेर मौनधारण गर्ने चलन छ । माघेसंक्रान्ती र वैशाख पूर्णिमामा देउता पुज्दा नुहाउँने राउटेहरू पछिल्लो समयमा मासिक रूपमा नुहाउन थालेका छन् । ‘बिहान उठेपछि प्रत्येक दिन दाँत माझ्छन्, अस्थायी शौचालयको प्रयोग गर्छन्’ सत्यदेवी भन्छिन्, ‘पहिलो पटक कोल्गेट दिँदा मह भनेर रोटीसँग खाइदिए । उनीहरू जंगलको राजा हौं भन्दै उभिएर नै शौचालय गर्थे ।’ राउटेलाई सत्यदेवीले बसेर शौच गर्न सिकाएको बताइन् ।
समाजको प्रभाव परेपछि राउटेहरू पछिल्लो समय जंगल छोड्न थालेका छन् । सरकारले जथाभावी रुख फँडानी गर्न रोकेको छ । जंगलमा शिकार खेल्ने राउटेले बाँदर पाउन छोडेका छन् । त्यसैले पनि उनीहरू चाडपर्व आउँदा खशी, बोका माग्दै राजधानी पुग्ने, प्रधानमन्त्री भेट्न थालेका छन् । राउटे मुखिया वीरबहादुर शाहीले जंगलमा गुना र बाँदरको संख्या घट्दो क्रममा रहेकाले सरकारले नै खानाको उचित व्यवस्था गर्नुपर्ने माग गरे । राउटेले बनाएका सामग्रीहरूसमेत बिक्री हुन छोडेका छन् । ‘खानाका लागि जंगलमा शिकार पनि पाइदैन’ उनले थपे, ‘हाम्रो सुरक्षा हुने गरी जंगलमै बस्ने वातावरण मिलाइ दिन सरकारसँग माग छ ।’
हाल गैरसरकारी संघ–संस्थाको सहयोगमा गुराँस गाउँपालिका–८ झ्याजेस्थित राउटे बस्तीमा परियोजना नै लागू भएको छ । जसअन्तर्गत राउटे बस्तीमा स्वास्थ्य उपचारका लागि एक जना डाक्टर बस्छन् । दुई जना सहयोगीहरूले उनीहरूलाई सरसफाइ र जीवनशैली बदल्न आवश्यक सल्लाह दिने गर्छन् । उनीहरू अहिले हप्तामा कपडा धुने, नुहाउने, मोबाइल प्रयोग गर्ने, खानपानमा ध्यान दिन थालेको शोसेक दैलेखका अध्यक्ष हिरासिंह थापाले बताए ।
प्रकाशित मितिः ४ आश्विन २०७५, बिहीबार १४:३४
साझा बिसौनी ।