भरतले बाँचेको जीवन

वर्षको हिसाब गरेर गन्ने हो भने, उनले आफ्नो जीवनको २४ वर्ष पूरा गरे, तर उनले आफ्नो जीवनको यो अवधिसम्म गरेका संघर्षहरू उमेरसँग तुलना गर्ने हो भने उमेरको अवधि भन्दा कयौं गुणा बढी छन् ।

भनिन्छ, मानिसको जीवन संघर्षहरूको संग्रह हो, भरत बिसीको जीवनसँग यो परिभाषा ठ्याक्कै मेल खान्छ ।

बाँच्नु मात्र जीवन होइन्, उनी भन्छन्, जीवन बाँच्नका लागि गरिने संघर्षहरू नै जीवन हो । मानिस बाहिरबाट हेर्दा जे जस्तो देखिन्छ, त्यो भन्दा सयौं र हजारौ गुणा फरक परिस्थितिमा बाँचेको हुन्छ जिन्दगी भन्ने एउटा उदाहरण हुन्, भरत ।

भरत बिसी, वि.सं. २०५० सालमा जाजरकोट जिल्लाको थालारैकरमा जन्मिएका हुन् । उनको जीवन भोगाई सुन्दा मात्रै पनि उनको संघर्ष साँच्चिकै अनुशरण गर्न लायक छ ।

जन्मजात पोलीयोको सिकार बनेका थिए, भरत ।

समयमै उपचार नपाउँदा झनै ग्रसीत बन्नु प¥यो । पोलियोबाट ग्रसित बनेका भरतलाई उपचारको साटो धामी झाक्रिकोमा लगीयो । उमेरको वृद्धिसँगै भरतमा बढ्दै गएको चेतनाको स्तरले उनलाई विधालय जान मन लाग्थ्यो तर उनी विद्यालय जान सकेनन् ।

झन् समाजले अपाङ्गता भएका व्यक्ति भनेर हेलाको दृष्टिकोणले हेरिरह्यो । आमा–बुबाका चार छोरा र चार छोरीमध्येका माइला सन्तान थिए भरत । मध्यम परिवारमा जन्मिएका भरतलाई उपचारका लागि अस्पताल लैजानका लागि ढिलाइ हुँदा पनि उनी झन् थलिन पुगे ।

भरतलाई अरु साथीहरू जस्तो नियमित विद्यालय जाने वातावरण थिएन । भरतले साथीहरूको सहयोगमा घरमै बसेर सामान्य अक्षरसम्म चिन्ने मौका भने पाएका थिए । सामान्य अक्षर पढ्न सक्थे उनी । एकपटक पत्रिकामा भरतले अपाङ्गता भएका एकजना व्यक्तिको सफलताको कथा पढ्ने मौका पाए । उक्त कथा पढेपछि उनलाई पनि अपाङ्गता भएका नागरिक पनि काम गर्न सक्ने रहेछन्, भन्ने लाग्यो । उक्त कथा पढेपछि भरतले आफूले लगाएको बासको काप्रो उतारेर ह्वीलचियरमा हिँड्न पाए सहज हुन्थ्यो भन्ने सोचे । त्यही पत्रिकामा रहेको एउटा सफलताको कथाले सामान्य रूपमा अरु जस्तै विद्यालय गएर पढ्न पाए भन्ने सोचेका भरतलाई त्यो कथा पढेपछि अब उपचार गर्न पाए भन्ने लाग्यो ।

जाजरकोटमा उपचारका लागि राम्रो अस्पताल थिएन । उनले आफ्नो उपचारका लागि लैजान बुबासँग आग्रह गरे, बुबाले उपार खर्चको जोहो गरेर भरतको उपचारका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म पु¥याय । उनलाई सुर्खेतबाट रिफर गरेर नेपालगन्ज पु¥याइयो । नेपालगन्जबाट पनि पूर्ण निको नहुने संकेत पाएपछि, काडमाडौं लैजान डाक्टरको सुझाव थियो । उनलाई उपचारका लागि काठमाडौंको बनेपा हस्पिटल पु¥याइयो ।

काठमाडौंमा डाक्टरहरूले भरतलाई शल्यक्रियाका लागि लखनऊमा लैजान सुझाव दिए । तर लखनऊमा उनको उपचार गर्नका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि भरतले आफूलाई उपचारका साटो राम्रो विद्यालयमा भर्ना गरिदिन आग्रह गरे । छोराको आग्रहलाई उनका बुबाले नर्कान सकेनन्, पैसाको जोरजाम गरेर चावहिलको एउटा होस्टेलमा

 

 एक वर्षका लागि होस्टेलको शुल्क तिरेर राम्रोसँग पढ्नु भनेर बुबा जाजरकोट फर्किए ।

उनी सुरुमा कक्षा ४ मा भर्ना भए । त्यतिबेला भरतको लागि एक वर्षको शुल्क तिर्नु भरतका बुबाको लागि ठूलो कुरा थियो । एक वर्ष बित्यो, बुबाले तिरिदिएको फिस सकियो, एक वर्षपछि घरमा फोन गरेर बुबालाई सोध्दा, थप फिस तिर्न नसक्ने प्रतिक्रिया दिए । भरत भन्छन्, ‘सायद यो बुबाको बाध्यता थियो, बुबाले अरु छोराछोरीलाई पनि खर्च पु¥याउनुप¥थ्र्यो ।’ त्यसपछि उनले विद्यालयमा अध्यक्षसँग अनुरोध गरेपछि केही सहज भयो । पढाइका लागि शुल्कमा केही सहायता मिल्यो ।

विकट जिल्ला जाजरकोटमा सामान्य शिक्षाको मात्र पहुँचमा पुगेका भरतलाई होस्टेलका

 

साथीहरू सँगै पढेर पढ्न असहज हुन्थ्यो, तर उनले पढाइमा चासो राखे, मेहेनत गरे । विस्तारै पढाइ सुध्रिदै गयो । त्यसपछिका पाँच वर्षसम्म घरपरिवारसँग भरतको कुनै पनि सम्पर्क भएन । एसएलसी परीक्षाको तयारी गर्दै थिए, भरतका दाईले होस्टेलमा फोन गरेपछि मात्र घरपरिवारसँग उनको पाँच वर्षपछि सम्पर्क भयो ।

भरतलाई एसएलीसम्म पढाइ खर्च होस्टेलले सहयोग गरेको थियो । उनी एसएलसी उत्तीर्ण भए, ११ कक्षा पढ्नका लागि उनका दाइले सहयोग गरे । तर पनि आर्थिक समस्या परिरहन्थ्यो । १२ मा पढ्दै गर्दा उनले साना बालबालिकाहरूलाई आफ्नै कोठामा ट्यूसन पढाउन थाले जसले गर्दा भरतलाई आर्थिक सहायता मिल्यो ।

१२ सम्मको पढाइ सकेपछि उनी बीआई फाउण्डेसनसँग जोडिन पुगे । उक्त संस्थाले खान–बस्न सुविधासहित मूर्ती बनाउने काम गर्नका लागि आठ महिनाको तालिम दिने भनेको थियो, केही समय तालिम लिए तर पछि उक्त संस्थाको अफिस सरेपछि त्यहाँसम्म पुग्न भरतलाई गाह्रो भएपछि तालिमलाई निरन्तरता दिन सकेनन् ।

 

कक्षा ८ मा पढ्दा उनले एउटा टेलिभिजन कार्यक्रममा ह्वीचियरमा बस्नेहरूले बास्केटबल खेलेको देखेका रहेछन् । त्यतिबेला नै उनलाई म पनि यसरी नै बास्केटकबल खेल्न पाए भन्ने लागेको रहेछ । भरतले प्रविणता प्रमाणपत्र सकेपछि खेल क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरे । प्लसटू सकेपछि आफ्ना केही साथीहरूसँग मिलेर जाउलाखेल स्पोर्टस् क्लब दर्ता गरे । क्लबबाट उनले आफू जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई खेल क्षेत्रमा ल्याउने प्रयत्न गरे ।

 

सुरुमा बास्केटबल खेल्नु उनका लागि एकदम गाह्रो विषय थियो । पर्याप्त तालिम थिएन, खेल्नका लागि सीप पनि थिएन, तर उनले हिम्मत हारेनन्, खेल क्षेत्रमै केही गर्नुपर्छ भन्ने दृढ ईच्छाले निरन्तर बास्केटबल खेल्न लागिरहे । अहिले उनी

 

हरूको क्लबमा नौ जना महिला खेलाडी र १६ जना पुरुष खेलाडी छन् ।

 

काठमाडौंका भित्र ११ वटा र काठमाडौं उपत्यका भन्दा बाहिरका तीन वटा गरी १४ वटा क्लबसँग हुने प्रतिस्पर्धामा जाउलाखेल स्पोर्टस एकेडेमी दोस्रो हुने गरेको छ । भर्खरै क्लब दर्ता भएको थियो, उनी स्नातक तहमा भर्ना भए । त्यति बेलासम्म पनि आम्दानीको कुनै स्रोत थिएन, घरमा खेतिपातीबाट आएको रकमले कति नै पुग्थ्यो र । स्नातकको पढाइ पूरा गर्न उनलाई विभिन्न संघ–संस्थाहरूले सहयोग गरे । पढाइ र खेलकै क्रममा उनी एउटा संंस्थासँग नजिक भए । उक्त संस्थाले अपाङ्गता भएका बास्केटबल खेलाडीहरूलाई खेल साम्रगी दिने रहेछ । त्यतिबेला उनलाई उक्त बास्केटबल टिमका कोच बनाउने योजना बनाएको रहेछ ।

उनी कामको खोजीमा थिए । त्यही समयमा ईन्गेज कार्यक्रममा कार्यक्रम संयोजकको लागि छनौट भए । कामका क्रममा उनले संस्थामार्फत् विभिन्न विद्यालयमा गएर अपाङ्गताका बारेमा सकारात्मक चेतना फैलाउने काम गरिरहेका छन् । अफिसको काम गर्दै उनी बास्केटबल खेलिरहेका छन् । आफू जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई हौसला दिन्छन् ।

जाउलाखेल स्पोर्टस् क्लबको अध्यक्षको जिम्मेवारी लिएर काम गरिरहेका भरतलाई अपाङ्गता भएका थुप्रै व्यक्तिहरूलाई क्षमतावान् र रोजगार बनाउने ईच्छा छ । हरेक सार्वजनिक स्थानहरू अपाङ्गमैत्री वातावरण बन्नुपर्ने उनले जोड दिँदै आएका छन् ।

समाज अझै पनि विभेदकारी छ । अपाङ्गता भएका नागरिकलाई कमजोर र अशक्तको रूपमा हेर्ने दृष्टिकोण बदलीन सकेको छैन । भरत भन्छन्, ‘समाजले सोचे जस्तो अपाङ्गता भएका व्यक्तिहरू त्यति धेरै कमजोर र अशक्त पनि हुँदैनन् ।’

भरत आफ्ना लागि मात्र होइन अपाङ्गता भएका हरेक नागरिकको पक्षमा र उनीहरूको अधिकार स्थापित गर्न आवाज उठाउँछन् । पछिल्लो समय केही सुधार भइरहेको उनलाई पनि महसुस भएको छ । भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोण त अहिले त्यति व्यापक त भइसकेका छैन तर पनि पहिले भन्दा केही सुधार भने पक्कै भएको छ ।’ जसले गर्दा यस्ता व्यक्तिहरूलाई केही हौसला भने पक्कै थपिएको छ । तर पूर्णरूपमा समतामूलक समाज निर्माण गर्न भने अझै समय लाग्नेछ । त्यसैले पनि समाजभित्रै बाँच्नका लागि र सबैले समान रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि समाजसँगै संघर्ष जारी रहेको भरत बताउँछन् ।

प्रकाशित मितिः   ४ आश्विन २०७५, बिहीबार १४:२६