सुर्खेतमा तयारी शून्य

बजेटको पर्खाइमा खेलकुद विकास समिति


साझा बिसौनी संवाददाता
सुर्खेत, २ असोज ।
प्रदेश नं. ५ को नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन करिब तीन महिना मात्रै बाँकी छ । तर छिमेकी जिल्लामा हुने उक्त प्रतियोगिताका लागि सुर्खेतमा भने अहिलेसम्म कुनै तयारी गरिएको छैन ।
खेलकुद सम्वद्ध निकायहरूले ध्यान नदिँदा राष्ट्रिय प्रतियोगिता लक्षित गरी जिल्लामा कुनै पनि काम भएको छैन । कतिसम्म भने खेलकुदका कतिपय विधागत संघ–संस्थाहरूलाई नै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुने भन्ने बारेमा जानकारी छैन । राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २१ गतेदेखि २९ गतेसम्म बाँकेको नेपालगन्जमा हुँदैछ । प्रतियोगिता नेपालगन्जमा हुने भनिए पनि केही खेल भने अन्य छिमेकी जिल्लामा समेत आयोजना हुनेछन् । नेपालगन्जसहित बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा पनि खेलहरू हुँदैछन् । ३५ वटा खेलहरू समावेश प्रतियोगिताको बाँकेमा १७, बर्दियामा चार, दाङमा नौ, कपिलवस्तुमा एक र रूपन्देहीमा चार वटा खेलहरू खेलाइने जनाइएको छ ।
प्रतियोगिता नजिकिँदै गए पनि सुर्खेतमा भने तयारी शून्य छ । विगतमा जस्तै यस वर्ष पनि अन्तिम समयमा हुने छनौट प्रतियोगितामार्फत् खेलाडी छनौट भइ प्रतियोगितामा सहभागी हुने देखिएको छ । सुर्खेतमा जिल्ला खेलकुद विकास समितिका साथै विभिन्न खेलका विषयगत संघ–संस्थाहरू गठन भएका छन् । तर कुनै पनि संघ–संस्थाले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भनेर तयारी तथा प्रशिक्षण लगायतका कुनै काम गरेको देखिंदैन । अन्तिम समयमा हुने छनौट प्रतियोगिताका आधारमा खेलाडी छनौट गर्ने परिपाटीका कारण ठूला प्रतियोगितामा खेलाडीहरूको सहभागिता औपचारिकतामा मात्र सीमित हुने गरेको खेलसम्वद्ध व्यक्तिहरू नै बताउँछन् । जिल्ला ब्याटमिन्टन संघ सुर्खेतका उपाध्यक्ष चेतबहादुर अधिकारीले सम्बन्धित निकायबाट आधिकारिक रूपमा जानकारीसमेत नआएकाले कुनै तयारी गर्न नसकिएको बताए । उनले राष्ट्रिय प्रतियोगिताकै लागि लक्षित गरेर नभए पनि ब्याटमिन्टनका नियमित गतिविधि र प्रतियोगिताहरू भइरहेकाले तिनै खेलाडीहरूमध्येबाट छनौट गरिने जानकारी दिए ।
विगतका वर्षहरूमा प्रतियोगिताको मुखैमा छनौट प्रतियोगितामार्फत् खेलाडी छनौट गरेर सहभागिता जनाउने गरिएको थियो । विगतमा जस्तै यसवर्ष पनि अन्तिम समयमा एक्कासी छनौट प्रतियोगिताकै भरमा सुर्खेतबाट खेलाडी आठौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका छन् । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमारगिरीले बजेट अभावकै कारण तयारी गर्न नसकिएको
जनाए । उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले जिल्लास्तरीय छनौट प्रतियोगिताका लागि भनेर
तीन लाख ५० हजार रूपैयाँ छुट्याएको छ । बजेट छुट्याइसकिएको भए पनि समितिमा प्राप्त नभएको बताए । उक्त बजेट आएपछि जिल्लास्तरमा छनौट प्रतियोगिता गरिने र त्यसबाट छानिएका खेलाडीहरूलाई प्रशिक्षणसहित प्रतियोगितामा सहभागिता गराइने अध्यक्ष गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीले प्रतियोगिता अन्तर्गतका केही खेलहरू सुर्खेतमा आयोजना गर्नका लागि पनि पहल भइरहेको जानकारी दिए । उनले विगतमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय भएको र अहिले मुलुक प्रदेश संरचनामा जाँदा सुर्खेतलाई कुनै खेल नदिइएको बताए । तर केही खेलहरू सुर्खेतमा आयोजना गर्नका लागि पहल भइरहेको उनको भनाइ छ । यसका लागि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रीमार्फत् पनि पहल भइरहेको गिरीले जनाए ।
चार ‘प’को अभाव
सुर्खेतको खेल क्षेत्रको विकास नहुनुमा चार ‘प’को अभाव रहेको सरोकावालाहरूको भनाइ छ । यहाँ खेलकुदका लागि आवश्यक पूर्वाधारको छैन । त्यसैगरी प्रशिक्षण, प्रतियोगिता र पुरस्कारको अभावकै कारण खेल क्षेत्रले फड्को मार्न नसकेको उनीहरू बताउँछन् ।
सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्की चार ‘प’ नभइ खेलकुद अघि नबढ्ने बताउँछन् । ‘पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र पुरस्कार खेलकुदका लागि अपरिहार्य छन्’ कार्कीले भने, ‘सुर्खेतसहित कर्णाली प्रदेशमा भने यी चार वटै कुराको अभाव छ ।’

प्रकाशित मितिः   ३ आश्विन २०७५, बुधबार ११:३८