विमानस्थल निर्माणमा चिनियाँ चासो

सुर्खेत, २ असोज । (साबिस)
कर्णाली प्रदेशमा विमानस्थल निर्माणका लागि एक चिनियाँ कम्पनीले चासो देखाएको छ । केही जिल्लामा राष्ट्रिय सडक सञ्जालको पहुँच पुग्न नसकेको कर्णाली प्रदेशमा छिमेकी मुलुक चीन सरकारको स्वामित्वमा रहेका कम्पनीले विमानस्थल निर्माणमा लगानी गर्न चासो देखाएको हो ।
कर्णाली प्रदेश सरकारको पहलमा नर्थ वेस्ट एभिएशन कम्पनीले विमानस्थल निर्माणका लागि अध्ययन थालेको हो । मुगु जिल्लाको रारामा विमानस्थल निर्माणका लागि प्रदेश सरकारका मुख्यमन्त्रीसहितको चिनियाँ लगानीकर्ताको टोलीले सम्भावित क्षेत्रमा अवलोकन गरेको छ । रारामा हाई अल्टिच्यूट विमानस्थल निर्माण गर्न लागिएको हो । जसका लागि नर्थ वेस्ट एभिएशन कम्पनीले लगानी गर्न सकारात्मक देखिएको छ ।
सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको राराको विमानस्थल निर्माणमा उक्त कम्पनीले चासो दिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । चिनियाँ सरकारको स्वामित्व रहेको उक्त कम्पनीले हाल भैरहवा विमानस्थल निर्माण कार्य गरिरहेको छ । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पछिल्लो समय विदेशी लगानी भित्रिन थालेको उनले बताए । पर्यटन, जलविद्युत, सडक र विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउन प्रदेश सरकार लागेको मुख्यमन्त्रीको भनाइ छ । कर्णालीको पर्यटन विकासका लागि रारा क्षेत्रमा ठूला होटेल, रिसोर्ट र विमानस्थल आवश्यक भएकोले प्रदेश सरकारले लगानीकर्ताको खोजी थालेको थियो । उक्त लगानी कम्पनीले अतिरिक्त जलविद्युत विकासका लागि तिला १ र २, फुकोट हाइड्रोपावर लगायतका क्षेत्रमा अवलोकन समेत गरेको छ ।

प्रकाशित मितिः   ३ आश्विन २०७५, बुधबार ११:३७