बालबालिकासँग रमाउँदै पढाउँदै
वि.सं. २०३२ साल जेठ २५ गते बुबा ललितबहादुर चन्द र आमा प्रेमदेवी चन्दको कोखबाट दैलेखको भेरीमा जन्मिएकी हुन्, टायलकुमारी खत्री । घरकी कान्छी छोरीको रूपमा जन्मिएकी टायललाई सानैदेखि शिक्षक बन्न रहर थियो । तर त्यतिबेला छोरीले पढ्न पाउनु भनेको ठूलो युद्ध जित्नु जस्तै थियो । टायलले पनि यस्तै युद्ध लड्नुपर्यो ।
उनी पढेर शिक्षक बन्न चाहन्थिन् । तर यसका लागि उनका बुबा राजी थिएनन् । घरका अरु सदस्यले टायललाई पढाउन अनुमति दिइसकेको भए पनि बुबाले भने छोरी बिग्रिन्छे भनेर पढाउन मानेनन् । तर टायलका अघि उनका बुबाको असहमति सदर हुन सकेन । जिद्धि गरेरै उनी विद्यालय जान थालिन् । उनी विद्यालय मात्र गइनन् सानैदेखिको शिक्षक बन्न सपना समेत पूरा गर्न सफल भइन् । वि.सं. २०५३ सालमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जन उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी शिक्षण पेसामा लागिन् । नौ वर्ष नेपालमा र ११ वर्ष भारतमा शिक्षण गरेकी टायलले हाल वीरेन्द्रनगर नगरपालिका–८ कवर्डहल नजिक किड्स किङ्डोम होस्टेल सञ्चालन गर्दै आएकी छन् । आधुनिक जमानाका व्यस्त बाबुआमाका छोराछोरीका लागि गतिलो अभिभावक बनेकी टायलकुमारी खत्रीले आफ्नो पेसागत जीवनका कथाहरू साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी साटिन्ः
म सानैदेखि विद्रोही स्वाभवकी थिएँ । कतै अन्याय परेको खण्डमा म चुप लागेर बस्न सक्दैनथें, आज पनि मेरो स्वभाव उस्तै छ । म दैलेखको गोगनपानी–३ भैरीमा जन्मेकी हुँ, घरकी कान्छी छोरीको रूपमा । नेपाली समाजमा छोरीलाई पढाउनु हुन्न भन्ने मानसिकता म हुर्कंदै गर्दा पनि थियो । आज पनि यो समाजमा छोरीप्रती आमाबुबाले गर्ने व्यवहार भिन्न छ । हामी ७ भाइबहिनी थियौं, छोरीहरूमध्ये पढ्ने अवसर मैले मात्र पाएँ, भाइहरूले भने पढेलेखेकै छन् । छोरीलाई नपढाउनु मेरो बुबाआमाको दोष होइन, पितृसत्तात्मक समाजको दोष हो ।
मलाई सानैदेखि शिक्षण पेशाबाटै समाज सेवा गर्ने ठूलो रहर थियो । मैले बालबालीकालाई असाध्यै माया गर्छु । मैले वि.सं. २०५३ सालमा जनउच्च माध्यमिक विद्यालय सुर्खेतबाट एसएलसी पास गरेपछि शिक्षण पेसामा लागेकी हुँ । अहिले मैले यही पेसा अंगाल्दै आएको २२ वर्ष भयो । म यो पेसामा कहिल्यै पनि असन्तुष्ट भइनँ । यो पेसालाई पैसा कमाउने माध्यमको रूपमा पनि मैले कहिल्यै हेरिनँ । मलाई विद्यार्थीले र अभिभावकले गरेको माया देखेर खुशी लाग्छ । मैले नौ वर्ष नेपालका विभिन्न निजी विद्यालयमा पढाएँ । मेरो श्रीमान् पनि शिक्षक हुनुहुन्थ्यो । ब्राईटल्याड एकेडेमी बोर्डिङ्ग स्कुल पिपिरा चौकमा छ, जुन हामीले सञ्चालन गरेका थियौं । तर संकटकालको त्रासले हामी छोराछोरीसहित भारत पस्न बाध्य भयौं । ११ वर्ष भारतमा पनि मैले पढाएँ । त्यो पनि मन्टेश्वरी प्रविधिबाट ।
जब म शिक्षण पेसामा लागें तव मलाई थाहा भयो शिक्षक र विद्यार्थीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुराको राम्रो सिकाई भयो । बालबालिकालाई जबरजस्ती पढाउने घोकन्ते विद्याको म एकदमै विरोधी हुँ । बालबालिकाको मानसिकता बुझेर पढाउन सक्नु शिक्षकको खुबी हो त्यो म मा छ । मैले वि.सं. २०७३ सालबाट दिनमा र फूल होस्टेलमा विद्यार्थी राख्ने गरेकी छु । जुन जागीर र व्यापारमा व्यस्त भएर आफ्ना बालबालिकालाई पढाउन मात्रै होइन खाना र माया दिन सक्नुभएको छैन त्यस्ता अभिभावकका बच्चाहरू मेरो होस्टेलमा आउने गरेका छन् । एक वर्षमा पढाइ मात्रै होइन अनुशासन पनि सिक्ने अवसर बालबालिकाले पाउने गरेका छन् ।
सेवासँग पैसा जोड्नै मिल्दैन । तर पनि गास, बास र कपासको लागि पनि पैसा आवश्यकता नै पर्छ । बालबालिकाको भविष्य, अभिभावकको माया र पैसा पनि कमाएको छु । मलाई खुशी लाग्छ । मेरो दुई जना बच्चा छन् । एकजना छोरी र एक जना छोरा उनीहरूलाई पनि मैले समाजसेवामा प्रेरित गर्ने गरेकी छु । मलाई जीवनमा अरु केही पनि गर्नुछैन । शिक्षा क्षेत्रबाटै नाम कमाउने मन छ । त्यसको लागि जागिरै खानुपर्छ भन्ने पनि छैन । अभिभावकहरूको माया पाएको छु । थुप्रै बालबालिकाको लागि अभिभावक बनेकी छु । त्यो भन्दा ठूलो प्राप्ती मेरो लागि अरु केही पनि छैन । म मेरो पेसाप्रति खुशी छु । मेरो जीवनको अन्तिम समयसम्म यो पेसालाई जोगाएर राख्नेछु ।
साझा बिसौनी ।