६ लाख खर्चेर हेलिकोप्टर चार्टर

साझा बिसौनी संवाददाता
सुर्खेत, १ असोज ।
सुशासन र मितव्ययिताको जतिसुकै नारा लगाए पनि कर्णाली प्रदेश सरकारका मन्त्रीहरू फजुल खर्चमा एक कदम अगाडि देखिएका छन् । यसको पछिल्लो दृष्टान्त हो, एक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्रीसहित कर्णाली प्रदेशका चार जना मन्त्री हेलिकोप्टर नै चार्टर गरेर कालिकोट पुग्नु ।

कालिकोटको नरहरिनाथ गाउँपालिकालाई आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक गाउँपालिका घोषणा गर्न सोमवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित चार जना मन्त्री हेलिकोप्टरमार्फत् कालिकोट पुगेका हुन् । नरहरिनाथ गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाई, सेभ द् चिल्ड्रेन तथा किर्डाक नेपाल कालिकोटको समन्वयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सोमवार कालिकोट पुगेका हुन् । उनीहरू मकालु एयरको हेलिकोप्टरमार्फत् कार्यक्रमस्थलसम्म पुगेका थिए ।
हेलिकोप्टरको खर्च भने नरहरिनाथ गाउँपालिकाले बेहोरेको स्रोतले जनाएको छ । गाउँपालिका स्रोतका अनुसार हेलिकोप्टर चार्टरमा मात्रै करिब ६ लाख रूपैयाँ खर्च भएको छ । हेलिकोप्टर नै चार्टर गरेर मुख्यमन्त्री शाही बहुमत मन्त्रीहरूसहित कार्यक्रममा पुग्दा स्थानीय नागरिकसमेत छक्क परेका थिए । ‘मुख्यमन्त्रीसहित मन्त्रीहरू हाम्रो ठाउँमा आउनु हाम्रो लागि त खुशीको कुरा नै हो’ सोही गाउँपालिकाका एक जनप्रतिनिधिले भने, ‘तर यसरी एउटा कार्यक्रम उद्घाटनमा मन्त्रीहरू नै लस्कर लागेर आउँदा म आफै छक्क परेको छु ।’ उनले मन्त्रीहरू फुर्सदमा भएकाले लस्कर लागेरै कार्यक्रममा सहभागी भएको हुनसक्ने टिप्पणी समेत गरे ।
नरहरिनाथ पुगेर मुख्यमन्त्री शाहीले गाउँपालिकालाई आधारभूत शिक्षामा सबै बालिबालिकाहरूको पहुँच सुनिश्चितता भएको घोषणा गरे । उनले शैक्षिक विकास विना अन्य विकास सम्भव नहुने जिकिर गर्दै सबै नागरिकलाई शिक्षाको पहुँचमा पु¥याउनुपर्ने धारणा राखे । मुख्यमन्त्री शाहीले कर्णाली पछि पर्नुको कारण यहाँका सबै नागरिकको चेतनास्तरमा वृद्धि नहुनु पनि भएको बताए । सबै नागरिकलाई शिक्षित र चेतनशील बनाउन सकेमा मात्र कर्णालीलाई समृद्ध बनाउन सकिने उनको धारणा थियो । उक्त कार्यक्रम लगत्तै मुख्यमन्त्री शाहीले नरहरिनाथकै रूप्सामा सोमवारदेखि सुरु मेलाको उद्घाटन गरेका थिए भने हेलिकोप्टरबाटै रास्कोटसम्म पुगेर फर्किएको जनाइएको छ ।
फुर्सदिला मन्त्री !
कर्णाली प्रदेशभित्र हुने औपचारिक कार्यक्रमहरूमा बहुमत मन्त्रीहरूको सहभागिता हुने गरेको यो पहिलो उदाहरण भने होइन । प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने कुनै कार्यक्रम होस् या प्रदेशभित्रका अन्य जिल्लाहरूमा हुने गरेका कार्यक्रमा नै किन नहोस् अधिकांश मन्त्रीहरू नै पुग्ने गरेका छन् ।
विकास योजना तथा नीति निर्माणका कार्यक्रममा दुई÷चार जना मन्त्रीको सहभागी हुनु स्वभाविकै मानिए पनि उद्घाटन, घोषणा लगायत सामान्य कार्यक्रममा पनि ‘मन्त्रीमण्डल’ नै पुग्ने गरेको भन्दै विगतदेखि नै आलोचना हुँदै आइरहेको छ । तर, मुख्यमन्त्रीसहित यहाँका मन्त्रीहरूले भने यसलाई बेवास्ता गर्दै आइरहेका छन् ।
केही महिनाअघि वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहीले नै एउटै कार्यक्रममा धेरै मन्त्री सहभागी हुने प्रवृत्तिको आलोचना गरेका थिए । उनले यस्तो प्रवृत्तिप्रति असन्तुष्टी जनाउँदै भनेका थिए, ‘एउटा कार्यक्रममा सबैजना आउने, अनि भाषण गर्ने यो शैली फिटिक्कै मन परेन । अब बोलेर भन्दा काम गरेर देखाउनुपर्छ ।’ तर उनले यस्तो प्रवृत्ति नियन्त्रण गर्न भने सकेका
छैनन् । सोमवार पनि मुख्यमन्त्री शाही र अन्य तीन जना मन्त्री एउटै हेलिकोप्टरमा चढेर कालिकोट पुगेका हुन् ।
यसैबीच मुख्यमन्त्री शाहीले नरहरिनाथकै रूप्सामा सोमवारदेखि सुरु भएको मेलाको समेत उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्न पुगेका मुख्यमन्त्रीसहितका मन्त्रीहरूलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । मन्त्रीहरू कार्यक्रमस्थलमा पुगेसँगै नजिकैको भलिबल मैदानको पोलमा कालो झण्डा टाँगेर उनीहरू भागेका थिए ।

प्रकाशित मितिः   २ आश्विन २०७५, मंगलवार १५:२६