दोषीलाई कारबाही गर्न माग

साझा बिसौनी संवाददाता
सुर्खेत, १ असोज ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै कर्णाली प्रदेशबाट जनदबाब बढ्दै गएको छ । निर्मलाको हत्या भएको दुई महिना पुग्न लाग्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै सोमवार सरकारविरुद्ध विभिन्न जिल्लामा प्रदर्शन गरिएको हो । निर्मलाको पक्षमा कर्णालीका महिला अधिकारकर्मीदेखि विद्यार्थीसम्मले जाजरकोट र सुर्खेत जिल्लामा प्रदर्शन गरेका हुन् ।
उनीहरूले महिलामाथि असुरक्षा बढेको भन्दै महिला सुरक्षाको ग्यारेण्टी गर्न सरकारको ध्यानाकर्षणसमेत गरेका छन् । महिलाहरू झनै असुरक्षित भएको भन्दै कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेका अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । शक्ति, पद र पहुँचको आडमा निर्मला पन्तका परिवारलाई न्याय भन्दा कस्ट दिने काम भएको भन्दै अधिकारकर्मीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले नेपाल सरकारले चित्त बुझ्ने गरी निर्मला पक्षलाई न्याय दिन, दोषी पत्ता लगाइ कडाभन्दा कडा सजायको र क्षतिपूर्तिसहित न्यायको प्रत्याभूति गराउन माग गरेका छन् ।
मानवअधिकारकर्मी, नागरिक समाज र महिला मानवअधिकार रक्षकहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै सरकारले प्रत्येक महिलाको स्वतन्त्रता, सुरक्षा र मर्यादाको सुनिश्चित गर्न, महिलाविरुद्ध हुने हिंसाप्रति संवेदनशील हुनुपर्ने, अपराधी जो सुकै भए पनि उम्कने वातावरण सिर्जना नगर्न, संवेदनशील भएर यौन अपराधीलाई निर्मूल पार्ने कडा भन्दा कडा कदम चाल्न माग गरेका छन् । निर्मला पन्तका परिवारले न्याय नपाइरहेका बेला दैनिक जसो महिलामाथि यौनजन्य घटना बढ्दै गएको महिला अधिकारकर्मी पवित्रा शाहीले बताइन् । ‘निर्मला पन्त न्यायका निम्ति देशव्यापी आन्दोलन भइरहेकै बेला देशभर दुई सय २५ चेली बलात्कृत भएका छन् । संघीय राजधानीमा मात्रै ४२ बलात्कारका घटना भएका छन्’ उनले प्रश्न गर्दै भनिन्, ‘सरकार १ महिलामाथि हुने हिंसा कहिले अन्त्य हुन्छन् र हामी सुरक्षित हुन्छौं ?’ कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै चालु आवमा ३६ वटा बलात्कारका घटना जिल्ला प्रहरीमा दर्ता भएका छन् । जसमा नौ वर्षकी बालिकादेखि १७ वर्षका बालिका धेरै छन् ।
‘किन, बालिकामाथि बर्बरता भएको छ ?’ अधिकारकर्मी मधुरानी ढकालले भनिन्, ‘कानुनलाई कार्यान्वयन गर्ने व्यक्तिबाट अपराधीको संरक्षण हुने, प्रमाणको खोजी गर्ने व्यक्तिबाट प्रमाणहरू नष्ट गरिने, नक्कली अपराधी खडा गरिने, नक्कली अपराधीलाई दबाबमा पारी बयान गर्न लगाउने प्रहरी प्रशासनको क्रियाकलापबाट न्याय नपाउने आशा हराएको छ’ उनले निर्मला हत्या प्रकरणमा डीएनए परीक्षण पछि सरकार र प्रहरी प्रशासनप्रति विश्वास घटेको बताइन् ।

प्रकाशित मितिः   २ आश्विन २०७५, मंगलवार १५:२४