सरकारलाई सघाउने प्रतिबद्धता

साझा बिसौनी संवाददाता
सुर्खेत, १ असोज ।
नागरिक समाज सञ्जाल सुर्खेतले कर्णाली प्रदेश सरकार र स्थानीय सरकारलाई सघाउने गरी आफ्ना गतिविधि गर्ने भएको छ । प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन, सुशासन लगायत सामाजिक, राजनैतिक साँस्कृतिक विसंगति र विकृतिविरुद्ध पैरवी गर्न प्रदेश र स्थानीय सरकारलाई सघाउने गरी काम गर्ने सञ्जालले जनाएको छ ।
नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना सञ्चालन गरिरहेको सुन्दर नेपाल संस्था सुर्खेतले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी सञ्जालका प्रतिनिधिहरूले स्थानीय सरकार तथा प्रदेश सरकारका नीति कार्यक्रम र बजेटमा उल्लेख भएका विषयहरूलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारका अङ्गहरूलाई सघाउने प्रतिबद्धता जनाएका हुन् ।
संघ–संस्थाहरूले पनि सूचनाको हक अन्तर्गत तीन÷तीन महिनामा २० किसिमका सूचना सार्वजनिक गर्ने र सरकारी निकायलाई पनि जवाफदेही गराउने, सरकारका राम्रा कामलाई सहयोग गर्ने र जवाफदेही बनाउन निगरानी गर्ने, बनेका नयाँ नीति नियमहरूलाई तल्लो तहसम्म जनचेतना फैलाउन विभिन्न कार्यक्रम गर्ने लगायतका प्रतिबद्धता सञ्जालका प्रतिनिधिहरूले जनाएका छन् ।
कार्यक्रममा नागरिक समाज संस्थाहरूको प्रतिनिधिहरूसँग पारस्परिक जवाफदेहिता परियोजनाको प्रगति तथा समीक्षा समेत गरिएको थियो । उक्त कार्यक्रममा कृष्णबहादुर हमाल, पीताम्बर ढकाल, दुर्गा थापा, खिम रेग्मी, गणेशकञ्चन भारती, भुपेन्द्रप्रसाद कँडेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २ आश्विन २०७५, मंगलवार १५:२४