सुर्खेतपत्रको वार्षिकोत्सव
साझा बिसौनी संवाददाता
सुर्खेत, १ असोज ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट प्रकाशित भइरहेको सुर्खेतपत्र दैनिकको ८ औं वार्षिकोत्सव सोमवार एक कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमका सहभागीहरूले पत्रिकाको व्यवसायिक सफलताको लागि शुभकामना र निर्भिकताका साथ कलम चलाउन सुझाव दिएका छन् ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्रले समाज र राष्ट्रको हितमा सधैं महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । अनेक चुनौतीका बाबजुद पनि मोफसलबाट नियमित पत्रिका प्रकाशन गर्नु प्रशंसनीय कार्य भएको भन्दै रेग्मीले विकास पत्रकारितामा जोड दिँदै ग्रामीण क्षेत्रका समाचारलाई प्राथमिकता दिन सुझाव दिए । साथै निर्भिकताका कलम चलाउन पनि उनले बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रिकाको चुनौतीपूर्ण यात्रालाई सहजरूपमा परिणत गर्दै अगाडि बढ्न सुझाव दिए । उनले नयाँ मिसन र उद्देश्यका साथ लक्ष्य प्राप्ती गर्न पत्रिकाको टिमलाई आग्रह गरे । प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराई, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पनि पत्रिकाको वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै सत्य तथ्यलाई आत्मसात् गर्दै कलम चलाउन सुझाव दिए ।
सुर्खेतपत्र दैनिकका प्रकाशक नरेशसिंह थापाले विगतमा चुनौतीपूर्ण यात्राहरू पार गर्दै आएकाले आगामी दिनमा सबैको समन्वयका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले विकास निर्माणका काम र सत्यतथ्य समाचारलाई प्राथमिकता दिन पनि जोड दिए । कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
साझा बिसौनी ।