यातायातको सबै सेवा सुर्खेतबाट दिन माग
साझा बिसौनी संवाददाता
सुर्खेत, ३१ भदौ ।
सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावतले यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारी र यातायातसँग सम्बन्धी सबै सेवा दिन संघीय संसदमार्फत् सरकारलाई ध्यानाकर्षण गराएका छन् । आइतवार बसेको संघीय संसदको बैठकमा बोल्दै सांसद रावतले कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा कार्यालय स्थापना भए पनि सबै सेवा नदिएको भन्दै उनले तत्काल सेवा विस्तार गर्न माग गरेका हुन् ।
संघीयता कार्यान्वयनमा आए पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम स्थापना गरिएको यातायात व्यवस्था कार्यालयको सेवा प्रदेशमा हस्तान्तरण हुन सकेको छैन’ संसदमा रावतले भने, ‘अञ्चल कार्यालय नेपालगन्जबाट दिइने सेवा अब सुर्खेतबाटै दिनका लागि म सरकारसँग अनुरोध गर्दछु ।’ उनले नेपालगन्जस्थित अञ्चल कार्यालय प्रदेश मातहतमा नहुँदा सबै प्रकारका सवारी साधन, दर्ता चलानी, इजाजत पत्र जारी, नवीकरण, रुट परमिट, यात्रुबाहक, मालबहाक, जाँचपास, सवारी चालक अनुमति–पत्र जस्ता कामका लागि कर्णाली प्रदेशका नागरिकले सास्ती भोग्नु परिरहेको बताए ।
सांसद रावतले उक्त कार्यालयलाई प्रदेश सरकार मातहतमा राख्न यातायात मन्त्रालायलाई संसदमार्फत् आग्रह गरे । सुर्खेतस्थित कार्यालयलाई चालक अनुमति दिने अधिकार नभएकाले यस क्षेत्रका यातायात व्यवसायीहरू विगतदेखि नै नेपालगन्ज जान बाध्य छन् । आय–आर्जनको मुख्य स्रोत बनाएर अटो रिक्सा सञ्चालन गरिरहेका चालकहरूले पटक–पटक सुर्खेतबाटै लाइसेन्स खोल्न माग गर्दै आएका छन् । तर, हालसम्म सुर्खेतस्थित कार्यालयले अञ्चल कार्यालयबाट काम गर्ने अधिकार पाएको छैन । केन्द्र सरकारले जिल्ला तहका अन्य कार्यालयहरू खारेजी गरि प्रदेश मातहतका कार्यालय सञ्चालन गर्न अनुमति दिए पनि यातायात व्यवस्था विभागको साविकको भेरी अञ्चल कार्यालयलाई खारेजी गरेको छैन ।
साझा बिसौनी ।