भारतीय राजदूत एक्कासी किन पुगे हिल्सा ?

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० भदौ ।
नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी शनिवार एक्कासी हुम्ला पुगेका छन् । राजदूत र उनका परिवारसहित सात सदस्यीय टोली शनिवार बिहान हुम्लाको सिमकोट पुगेका हुन् । पुरी र उनको परिवारसहित राजदूतसँग आएका प्रतिनिधिमण्डल फिष्टेल एअरको हेलिकोप्टरमार्फत् चीनको स्वशासित क्षेत्र तीब्बतसँग जोडिएको हिल्सा नाकासम्म पुगेको बुझिएको छ ।


स्थानीय प्रशासनलाई पनि जानकारी नदिएर राजदूत किन हुम्ला पुगे भन्नेबारे भने खुल्न सकेको छैन । राजदूत पुरीले पारिवारिक भ्रमणका लागि हुम्ला आएको स्थानीय सञ्चारकर्मीहरूसँग बताएका थिए । भारतीय राजदूत एक्कासी हुम्लामा आउनुको कारण जिल्लाका राजनीतिक दल, नागरिक अगुवा लगायतले रहस्यमय भएको बताएका छन् । एक्कासी हुम्ला आएको उक्त टोलीले चीन स्वशासित क्षेत्र तीब्बतँसग जोडिएको हिल्सा नाकाको समेत अवलोकन गरेपछि स्थानीय नागरिक अगुवाहरूले भ्रमण रहस्यमय हुनसक्ने टिप्प्णी गरेका छन् ।
यता स्थानीय प्रशासनले पनि उनको भ्रमणका बारेमा अनभिज्ञता प्रकट गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर गहेन्द्र बोगटीले पुरीसहितको टोलीले हिल्सा नाका भ्रमण गरेको जानकारी दिए । तर उनीहरू के कारणले हुम्ला आएको र हिल्सा नाका भ्रमण गरेको भन्ने बारेमा भने आफूलाई केही थाहा नभएको उनले बताए ।
राजदूत पुरीले भने आफ्नो भ्रमणको उद्देश्य कुनै राजनीतिक भेटघाट नभएको जिकिर गरे । उनले नितान्त आफ्नो व्यक्तिगत भ्रमण अन्तर्गत हुम्लामा एक बास बस्नको लागि आएको सञ्चारकर्मीलाई
बताए । हुम्लाबाट उनी मुगु जाने बताइएको छ । मुगु जिल्लामा रहेको रारा तालको अबलोकन गर्नका लागि आज (आइतवार) राजदूत पुरीसहितको टोली त्यसतर्फ लाग्ने जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर बोगटीले बताए ।
पुरीले कैलाश मानसरोवरको दर्शन गर्न गएका भारतीय तीर्थयात्रीसँग सिमकोट विमानस्थलमै भेटघाट समेत गरेका छन् । समिट एअरको विमानबाट नेपालगन्ज हुँदै सिमकोट विमानस्थलमा ओर्लेका राजदूत पुरीले लगत्तै आफ्ना तीर्थयात्रीहरूसँग भेटघाट गरेका थिए । मानसरोवरको यात्रा र यात्राका क्रममा आइपरेका समस्याबारे आफ्ना नागरिकसँग उनले भलाकुसारी गरेको जनाइएको छ । आफ्ना नागरिकसँग भारतीय राजदूतावास सधैं साथमा रहेको र तीर्थयात्रीमा समस्या हुन नदिने उनले प्रतिबद्धता समेत जनाएका थिए । सिमकोट विमानस्थलमा पुग्नेबित्तिकै पुरीले कैलाश मानसरोवर जाने धार्मिक पर्यटकलाई सुविधा हुने गरी पूर्वाधार निर्माणमा जोड दिएका छन् ।
राजदूत पुरीसँगै आएका भ्रमण मण्डलका पाँच जना सदस्य सिमकोट पुगे लगत्तै नेपाल चीनको सीमाना हिल्सा गएका थिए । पुरी भने आफ्नी श्रीमतीसहित सिमकोट रहेको विजय होटलमा एकदिने बास बस्ने कार्यक्रम रहेको हुम्लास्थित भारतीय राजदूताबासका प्रतिनिधि जनकबहादुर शाहीले जानकारी दिए । उनका अनुसार पुरीको हुम्ला भ्रमण दुई दिनका लागि हो ।
नेपालगन्जबाट हवाईजहाजमा सिमकोट आएका पुरीले जिल्लास्थित सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पौण्डेल, सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिसँग समेत भेट गरेका छन् । भेटमा सहायक प्रमुख जिल्ला अधिकारी महेश पौड्यालले सिमकोट विमानस्थलबाट जिल्ला अस्पताल केही टाढा भएकाले आपतकालीनका लागि ल्याएका बिरामीको उपचार गर्न समस्या भएको बताउँदै सिमकोट विमानस्थलमै घुम्ती स्वास्थ्य क्लिनिकको व्यवस्थाका लागि सहयोग गर्न
आग्रह गरे । राजदूत पुरीले हुम्लाका लागि भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जानकारी
दिए । हुम्ला आफैमा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भएको र भगवान शिवको बस्ने स्वर्गको ठाउँमा भएकोले यसलाई भारत सरकारले पनि विशेष क्षेत्रका रूपमा हेरेको पुरीले बताए ।
राजदूत पुरीलाई जिल्लामा भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्न सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले आग्रह गरेका थिए । उनले सिमकोट आसपासमा गाडी गुड्न थालेपछि बिरामाी ओसार–पसार गर्ने एम्बुलेन्सको आवश्यकता भएको भन्दै भारतीय राजदूतसँग एम्बुलेन्स माग गरे ।

प्रकाशित मितिः   ३१ भाद्र २०७५, आईतवार १६:३८