मिलनसार मिलन
वीरेन्द्रनगर–९ सुर्खेतका मिलन श्रेष्ठ सुन्दर नेपाल संस्थामा कार्यरत छन् । वि.सं. २०३९ सालमा बुबा कृष्णकुमार श्रेष्ठ र आमा शिवकुमारी श्रेष्ठको कोखबाट वीरेन्द्रनगरमा जन्मिएका उनी विभिन्न सामाजिक संघ–संस्थाहरूमा आवद्ध भइ सामाजिक कार्यमा समेत सक्रिय छन् । नेपाल आदिवासी जनजाति युवा महासंघको केन्द्रीय उपाध्यक्ष, नेवाः देय्ः दबूःको केन्द्रीय उपाध्यक्ष लगायतका जिम्मेवारीमा रहेरसमेत काम गरिरहेका श्रेष्ठले आफ्नो बाल्यकालको सम्झना साझा बिसौनी सहकर्मी मुना हमालसँग यसरी साटेः
मेरो जन्म वीरेन्द्रनगर–१४ गढीको गोठीकाँडामा भएको हो । चार भाइबहिनी छौं । म माइलो छोरा । बाल्यकाल रमाइलोसँग नै बित्यो । बालापनमा कुनै बोझ हुँदैन । साथीभाइहरूसँग खेल्दै–रमाउँदै समय बितेको थाहै भएन ।
आमा स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । उहाँलाई कामको सिलसिलामा प्रायः विभिन्न ठाउँमा गइरहनुपथ्र्यो । बुबा रोजगारीका लागि भारत जानुहुन्थ्यो । त्यसकारण घरको काममा पनि हामीले समय दिनुपथ्र्यो । खाना पकाउने काम गर्नुपथ्र्यो । बाल्यकालको अर्को मुख्य काम पानी बोक्नु पनि हो । गोठीकाँडामा हँुँदा एक÷दुई घण्टा लगाएर पानी ल्याएर आउनुपर्ने बाध्यता थियो ।
पढ्ने उमेर भएपछि हामी गोठीकाँडाबाट वीरेन्द्रनगरको लाटीकोइलीमा आएर बस्यौं । मैले शिव माध्यमिक विद्यालयमा शिशु कक्षा पढें । त्यसपछि भने आर्दशराज बोर्डिङ्ग स्कुलमा कक्षा १ देखि पढेको हुँ । कक्षा आठसम्म आदर्शमा पढेपछि रोजल्याण बोर्डिङ्ग स्कुलमा ९ र १० पढें । मैैले वि.सं. २०५५ सालमा एसएलसी उत्तीर्ण गरेको हुँ ।
म सानैदेखि कला–संस्कृतिमा रुचि राख्थें । सँगै खेलकुदमा पनि रुचि थियो । म खेलहरूमा सहभागी भएका प्रतियोगिताहरूमा प्रायः प्रथम हुन्थें । हाइजम्प, लंगजम्प, कम्फाइट, बोरा दौड, चम्चाका गुच्चा हालेर दौडने आदि खेलहरू हुन्थे ।
नाँचगान भनेपछि म जहाँ पनि पुगिहाल्थें । गाउँघरमा हुने कार्यक्रमदेखि विद्यालयका सांस्कृति कार्यक्रमसमेत छुटाउँदैन थिएँ । आफू पनि सहभागी भइहाल्थें । मादल बजाउने, नाँच्ने, गाउँने सबैतिर उत्तिकै रुचि थियो । त्यतिबेलामा जात्राहरू निकै लाग्थे, हेर्न जान्थ्यौं । त्यहाँ प्रायः हामीभन्दा ठूला व्यक्तिहरू नाँच्दथे, हामी सानालाई नाँच्नै नदिने । म भने कतिबेला आफूभन्दा ठूला मान्छेहरू थाक्छन् र मलाई नाँच्न दिन्छन् भनेर उनीहरूसँगै जान्थें । लाखे नाँच्दा–नाँच्दा थाकेपछि अनि मलाई नाँच्ने अवसर दिन्थे । जात्रा लागेको बेलामा विद्यालय बिदा हुँदैनथ्यो । निकै दुःख लाग्थ्यो । भागेर पनि जात्रा हेर्नका लागि जान्थ्यौं । कहिले काहीं घरमा ढाटेर स्कुल नैै नगइ बीचैबाट भागेर जात्रा हेर्न जान्थ्यौं । मलाई सानो छँदा कुलमान नेपाली, धर्मराज गिरी गुरुहरूले नाँच सिकाउनु भएको हो । म प्रायः तिजको समयमा मादल बजाउँथे । मलाई मादल बजाउन मेरो बाजेले सिकाउनुभएको हो । उहाँहरूको प्रेरणाले गर्दा पनि संस्कृतिप्रति रुचि बढेको हो । म लाखे नाँच सिक्नेका लागि घरदेखि परपरका गाउँसम्म भागेर पनि पुग्थें ।
म बाल्यकालमा बृद्धबृदाहरूसँग रमाउँथे । घरमा बाजेसँग रमाउने, उहाँहरूको कुरा चाख मानेर सुन्दथेँ । उहाँहरूले भुतका कहानी सुनाउनुहुन्थयो, आफूले गरेका दुःखका कुरा गर्नुहुन्थ्यो । मलाई ती कुरा सुन्दा रमाइलो लाग्थ्यो ।
सानोमा कहिले काहीं बदमासी पनि गरियो । गाउँघरमा काँक्रा, फलफूलहरू चोर्ने काम पनि गरियो । त्यसरी चोेरेर खाएको कसैले थाहा पाउँदैन्थे । गाउँघरमा जति भने पनि काँक्रा फलफूल हुन्थे । मैले सानो छँदा प्रायः आफ्नो उमेरका साथीहरूसँग साथ गरिनँ । आफूभन्दा ठूलासँग मात्रै साथ गरें । आफूसँगका साथीहरूसँग धेरै झगडा हुने भएकाले धेरै साथ नगरेको हुँ । कहिले काहीं साथीहरू मिलेर वनभोज खान जान्थ्यौं । माछा मार्न जान्थ्यौं । पौडी खेल्न जाने गथ्र्यौ । प्रायः ठूला नै साथीहरू हुन्थे ।
सानो छँदा पाइलट बन्ने सपना थियो । तर एसएलसीपछि सपना मोडियो । ठूलो हँुदै गएपछि विस्तारै परिवर्तन हुने रहेछ । एसएलसीमा भनेको जस्तो अंक नआएपछि मैले क्याम्पस पढें । म सामाजिक सेवामा पनि रुचि राख्थें । अहिले पनि काम गरिरहेको छु । बाल्यकालदेखि नै गाउँघरमा हुने सार्वजनिक कामहरूमा सहभागी हुने, सहयोग गर्ने गर्दथें । कहिले काहीं म आमासँगै उहाँलाई काममा सघाउन जान्थें । स्वास्थ्य सामग्रीहरू बोकेर दिनभर उहाँसँगै हिड्थेँ ।
हिजोआजको जस्तो त्यतिबेला मान्छे मरेपछि भेरीमा लैजाने चलन थिएन । निकाश, रानीघाट जस्ता स्थानमा लाश लगेर जाने गर्थे । बोकेर नै लौजान्थे । यस्तो बेलामा काम गर्दा राम्रो हुुन्छ भन्थे । म लास बोक्न, शंख फुक्न अघि सर्थें । मलाई समाजिक सेवामा लाग्न सानैबाट प्रेरणा मेरो बुबाआमा, मामाहरूले दिनुभएको हो । खेलकुदमा भाग लिँदा नेपालगन्जसम्म गएको छु । गोठीकाँडा मामाको घर भएकाले प्रायः त्यहाँ जान्थँे । रमाइलो लाग्थ्यो । बाल्यकालमा म चकचके स्वभावको थिएँ । तर कसैसँग झगडा गरिनँ । मिलनसार नै थिएँ । आफू सानो हुँदा पनि केटोकटी खेलाउन मन लाग्थ्यो । उनीहरूलाई सहयोग गर्ने गर्थें ।
बिहान उठेर घर–आगन बढार्ने, कुवाबाट पानी ल्याउने, घर लिपेर पूजाआजा गर्ने अनि खाना पकाएर दिदी मम्मीलाई खान दिएर आफु स्कुल जान्थें । अझै पनि त्यो बालापनको सम्झना आउँछ, र रमाइलो लाग्छ । सानो छँदा म भावुक स्वभावको पनि थिएँ । भाइ हेर्दाहेर्दै रोयो भने म पनि सँगै रुन्थें । सानोमा प्रेमपत्र लेख्थे, रुखमा र बाटोमा आफूलाई मन परेको केटीको नाम लेख्ने पनि गरियो । ती बाल्यकालमा सम्झनाहरू अहिले सम्झदा पनि रमाइलो लाग्छ । मैले कक्षा १० मा पढ्दै गर्दा बसन्ती श्रेष्ठलाई आठ पृष्ठ लामो प्रेम पत्र लेखेको थिएँ । अनि अटो भरेको पनि याद छ । उक्त अटो त आजभोलि पनि सुरक्षित राखेको छु । मैले एसएलसी पछि उनैसँग विवाह गरेँ ।
साझा बिसौनी ।