प्रदेश सरकारद्वारा स्वास्थ्य परामर्श समिति गठन

सुर्खेत, ३० भदौ । (साबिस)
कर्णाली प्रदेश सरकारले स्वास्थ्य परामर्श समिति गठन गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद् बैठकले सात सदस्यीय प्रदेश परामर्श समिति गठन गरेको हो । स्वास्थ्य सम्बन्धी कानून तथा नीति निर्माणमा सहयोग गर्न प्रदेश सरकारले डा. भगवान कोइरालाको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सदस्यमा डा. अर्जुन कार्की, डा. सेनेन्द्रराज उप्रेती, डा. सुरेश तिवारी, डा. डम्बर खड्का, डा. मंगल रावल र डा. तीर्थ थापा रहेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका अनुसार समितिले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित काममा प्रदेश सरकारलाई आवश्यक परामर्श र सल्लाह दिनेछ ।
यसैबीच, मन्त्रिपरिषद्को बैठकबाट सुर्खेतको सिम्ता गाउँपालिकाको केन्द्र विवाद निरूपण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने, जुम्लाको हिमा गाउँपालिकाको केन्द्र विवाद समस्या समाधान गर्न मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक सेवा प्रसारण विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको सार्वजनिक निर्माण र परामर्श सम्बन्धी काम संक्षिप्त कार्यविधिबाट गर्ने प्रस्ताव पारित गरिएको छ । सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित संगठन संरचना तथा दरबन्दी तेरिज नेपाल सरकारबाट स्वीकृत भइ नआउँदासम्म संलग्न संगठन संरचना र दरबन्दी अनुसार कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान दिने र प्रदेशका स्वीकृत दरबन्दीका कर्मचारी शीघ्र खटाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । प्रदेशमा तत्काल कर्मचारी खटाउन नसक्ने अवस्थामा चालु आबको बजेट कार्यान्वयन गर्न आवश्यक प्राविधिक कर्मचारी सेवा करारमा लिनका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ । यस्तै, बैठकले कर्णाली प्रदेश समन्वय परिषद् बैठक आसोज १९ र २० गते आयोजना गर्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा १०५ अनुसार गठित परिषद्को बैठकमा स्थानीय तहका जनप्रतिनिधि र मुख्यमन्त्रीबीच नीति निर्माण, आवश्यक समन्वय र सहकार्यमा छलफल हुनेछ ।

प्रकाशित मितिः   ३१ भाद्र २०७५, आईतवार १६:३७