डोल्पा पठाउनुपर्ने खाद्यान्न रसुवागढीमा अलपत्र
साझा बिसौनी संवाददाता
डोल्पा, ३० भदौ ।
नेपाल खाद्य संस्थान तथा नेसनल ट्रेडिङ लिमिटेडले दुर्गम जिल्लाका लागि पठाएको खाद्यान्न सामग्री रसुवागढी नाकामा थन्किएको छ । डोल्पा जिल्लाको तिन्जे डिपोका लागि पठाएको चामल तथा नुन र अन्य निर्माण सामग्री तीन साताभन्दा लामो समयदेखि रसुवागढी नाकामा थन्किएको हो ।
४० दिनअघि भन्सार गरी केरुङ लैजान लागिएको सामग्री चीनतर्फको भन्सार कार्यालयले एजेन्टमार्फत् लान नमिल्ने बताएपछि रसुवागढी नाकामै थन्किएको निकासीकर्ता रामशरण देउजाले बताए । यसअघि सामग्री लैजानका लागि सहज थियो, नेपालतर्फ सामग्रीको भन्सारसमेत भइसकेको छ,’ उनले भने, चीनतर्फको भन्सार कार्यालयले एजेन्टमार्फत् सामग्री लैजान मिल्दैन भनेर दिएन ।’
चीन सरकारले नै जिम्मा लिइ कन्टेनरको प्रयोग गरी लान अनुरोध गरेपछि कन्टेनरको अभावमा लान नसकिएको उनको भनाइ छ । विगतमा दुर्गमका लागि खाद्यान्न वस्तुहरूको ढुवानी गर्दा खुल्ला रूपमा लाने व्यवस्था भए पनि अहिले कन्टेनरको प्रयोग गर्नुपर्ने नयाँ व्यवस्थाले रोकिन पुगेको बताइएको छ । चीन सरकारले अनुमति नदिएपछि व्यापारीले ती सामग्री प्रहरीचौकी टिमुरेमा भण्डारण गरेका छन् । ४० दिनसम्म रसुवागढी नाकामा थन्किएको चामल र नुन शुक्रवार प्रहरीचौकीमा भण्डारण गरिएको हो ।
डोल्पाका लागि चार हजार सात सय क्वीन्टल चामल र दुई हजार सात सय क्वीन्टल नुन लैजान लागिएको छ । त्यस्तै १० वटा कन्टेरमा विद्यालय, पुल र स्वास्थ्यचौकीको सामग्री रहेको छ । त्यस्तै पाँच वटा कन्टेनरमा भने डिजेल छ । केरुङबाट डोल्पामा सामग्री पु¥याउन करिब एक साता लाग्छ । केरुङबाट चिनियाँ कन्टेनर वा टेलरको प्रयोग गर्नुपर्छ । चीन सरकारले नै जिम्मा लिने गरी कन्टेनरको प्रयोग गर्न आग्रह गरिएको तर सामग्री लैजान पर्याप्त कन्टेनर नरहेको देउजाले बताए । उनले भने, ‘८० वटा कन्टेरमा सामग्री लैजान लागेका छौं, चिनियाँ टेलर भएमा २५ देखि ३० वटा भए पुग्छ ।’ तर कन्टेनरमा लैजाने हो भने ८० वटै कन्टेनर आवश्यक पर्छ । नेपाली कन्टनेर चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङसम्म मात्र जान पाउँछन् ।
लामो समयसम्म सामग्री गाडीमा राख्दा र लान नपाउँदा चामल तथा नुन जस्ता खाद्यान्न बिग्रने अवस्थामा पुगेको र ढुवानी भाँडासमेत महँगो हुन पुगेको निकासीकर्ता देउजाले बताए । ‘डोल्पाका बासिन्दाले चामल पाएका छैनन्, तर लैजान लागिएको चामल कुहिने अवस्थामा पुगिसकेको छ,’ उनले बाध्यता सुनाए ।
साझा बिसौनी संवाददाता ।