प्रहरीको निशानामा घरेलु मदिरा
सुर्खेत, ३० भदौ । (साबिस)
चाडपर्व नजिकिदैं गर्दा घरेलु मदिरामा प्रहरीले विशेष निगरानी बढाउने भएको छ । घरेलु मदिराका कारण समाजमा हो–हल्ला, भाँडभैलो र विभिन्न विकृतिहरू मौलाएको भन्दै प्रहरीले निगरानी बढाएको हो ।
जिल्लाका नौ वटा स्थानीय तहमा घरेलु मदिरा बिक्री वितरणमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अवैध रूपमा मदिरा बिक्री गर्न नदिने र गरेको पाइएमा कानून अनुसारको कडा कारबाही गर्ने योजनासहित अभियान नै सञ्चालन गरिने भएको छ । गाउँ–गाउँबाट प्रहरीले अवैध मदिरा नियन्त्रण गर्ने योजना बनाएको छ । चाडपर्वलाई शान्त र समाजलाई सुरक्षित बनाउने रणनीति अनुसार प्रहरीले घरेलु मदिरामाथि निगरानी बढाउन लागेको हो । यसैबीच, वीरेन्द्रनगर मुख्य बजार क्षेत्रबाट बरामत गरिएको घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीज पर्व अगाडि बरामत गरिएको तीन सय ५० लिटर अवैध घरेलु मदिरा शनिवार नष्ट गरिएको हो ।
अवैध घरेलु मदिरासहित मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ दुई हजार लिटर र आठ थान मदिरा उत्पादन गरिने भाँडाहरू बरामत गरिएको थियो । जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले चाडपर्वलाई केन्द्रित गरी आगामी दिनमा प्रहरीले घरेलु मदिरामाथि विशेष अभियान थालेको बताए ।
साझा बिसौनी संवाददाता ।