‘हेलो मुख्यमन्त्री’ मा गुनासोसँगै सुझावका चाङ्ग

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ भदौ ।
‘नक्सा पास गर्नै ३०/३५ हजार लाग्न थाल्यो । घर पुरानो हुँदा जरिवाना र सिफारिस शुल्क महङ्गो भयो, यसमा प्रदेश सरकारले केही गर्नुप¥यो’ वीरेन्द्रनगर–११ सुर्खेतका सुशान्त रेग्मीले कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘हेल्लो सीएम हटलाइन’ सेवामा गरेको गुनासो हो, यो । स्थानीय सरकारले चर्काे कर वृद्धि गरेपछि आजित भएका रेग्मीले कर नीति संशोधन गर्नका लागि पहल गरिदिन प्रदेश सरकारलाई गुहारेका हुन् ।
यस्तै सल्यानका अनिस डाँगीले हेल्लो सीएमको हटलाइन सेवामा टेलिफोनमार्फत् भने, ‘माछापालन गर्ने सोच छ, यसमा प्रदेश सरकारले किसानलाई के सहयोग गर्नसक्छ ? विदेश जानुभन्दा स्थानीयस्तरमै स्वरोजगार बन्ने योजना छ । यसमा सरकारले केही सहयोग गरिदिनुप¥यो ।’
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँबाट सुत्केरी भत्तावापत आठ सय रूपैयाँ नपाएपछि वीरेन्द्रनगर–८ का ललितनाथ योगीले उक्त गुनासो हेल्लो सीएममार्फत् मुख्यमन्त्री कार्यालयमा गरे । सुत्केरी भत्ता नपाएको गुनासो आएपछि अस्पताल प्रशासन शाखामा बुझ्दा गर्भवती भएपछि नियमित चेकजाँच गराएवापत मात्रै भत्ता पाउन सकिने व्यवस्था भएको योगीले जानकारी पाए ।
उल्लेखित दृष्टान्त कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘हेलो मुख्यमन्त्री’ हटलाइनमा आउने गुनासोका केही उदाहरण मात्रै हुन् । २०७५ जेठ २४ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सुरु गरिएको हेलो मुख्यमन्त्री हटलाइन–१०९६ मा दैनिक जसो नागरिकका गुनासोहरू आउने गरेका छन् । सेवा सञ्चालनमा आएको छोटो समयमै दुई सय भन्दा बढी गुनासो हेल्लो सीएममा आइपुगेका छन् ।
शनिवार र सार्वजनिक बिदाका दिनमा पनि सरकारले जनताका गुनासोहरू लिने गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दैनिक तीन सिफ्टमा कर्मचारीहरू हेल्लो सीएम हटलाइमा काम गर्छन् । हटलाइन सुरु गरेदेखि हालसम्म दुई सय तीन वटा गुनासो र जिज्ञासाहरू नागरिकले गरेका छन् । हटलाइन शाखाको अभिलेख अनुसार कर्णालीबासीले प्रभावकारी सेवा पाउन नसकेको गुनासोहरू धेरै गरेका छन् । सेवा प्रवाह सम्बन्धी हालसम्म ४४ वटा गुनासोहरू आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेल्लो मुख्यमन्त्री शाखाले जनाएको छ । तथ्यांक अनुसार हालसम्म विकास निर्माणका गुनासोहरू ३७ वटा छन् । भदौ महिनामा मात्रै सात वटा गुनासो विकास निर्माणमा जनताले गरेका छन् । यस्तै, नीतिगत विषयमा ३६, विद्युत सम्बन्धी २६, शिक्षा, स्वास्थ्य सम्बन्धी २४, सञ्चार सम्बन्धी १२ र २४ वटा विविध गुनासोहरू हटलाइनमा आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशव उपाध्यायले जानकारी दिए ।
कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य भएको भन्दै मुख्यमन्त्री कार्यालयले हटलाइन सेवा सुरु गरेको थियो । सेवा प्रवाह र विकास निर्माणका काममा जनताको सल्लाह, सुझाव र सहयोगको अपेक्षाका लागि प्रदेश सरकारले सुरु गरेको हटलाइन नम्बरमा कर्णालीबासीले गुनासो सँगसँगै सुझाव पनि दिने गरेका छन् ।
संघीय संरचना अनुसार प्रदेश तहमा सरकार गठन भएसँगै यहाँका नागरिकमा कर्णालीको विकास र समृद्धिको आशा पलाएको छ । विगतमा केन्द्र सरकारसँग आफ्ना गुनासो र अपेक्षा व्यक्त गर्न नसक्ने कर्णालीबासी प्रदेश सरकारसँग भने सिधै आफ्ना कुरा राख्न थालेका छन् । भौगोलिक रूपमा विकट भएकाले पनि कर्णालीबासीले विकास निर्माण, सडक, विद्युत र सञ्चारमा धेरै गुनासो पनि गर्ने गरेका छन् ।
प्रवक्ता उपाध्यायले हटलाइनमा आएका गुनासोहरू सम्बोधन हुने गरेको बताए । ‘नीति निर्माण सम्बन्धी आएका गुनासोहरू अभिलेखीकरण गर्ने गरिएको छ’ उनले भने, ‘प्रभावकारी सेवा प्रवाह गर्न मौखिक रूपमा जनताका गुनासोहरू सम्बोधन भएका छन् ।’ उनका अनुसार तत्काल सम्बोधन गर्न नसकिने गुनासोहरू अभिलेखीकरण गर्ने र लिखित रूपमा सम्बन्धित निकायलाई जानकारी गराउने काम भइरहेको छ । जनतालाई आफ्ना कुरा सहजै प्रदेश सरकारसँग राख्न सहज बनाउनका लागि हेल्लो सीएम हटलाइन सेवा सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मितिः   ३० भाद्र २०७५, शनिबार १६:३६